व्यवसाय प्रकार | सार्वजनिक |
---|---|
उद्योग |
|
स्थापित | मार्च ३१, २०१६ |
स्थापनाकर्ता | |
केन्द्रीय कार्यालय | न्यु योर्क सहर, न्यु योर्क, संयुक्त राज्य अमेरिका |
सेवा क्षेत्र | विश्वव्यापी |
उत्पादनहरू | स्पोर्ट्सवेयर |
मालिक | बियोन्से |
मूल सङ्गठन | पार्कवुड इन्टरटेनमेन्ट |
वेबसाइट | www |
आइभी पार्क (अङ्ग्रेजी: Ivy Park) सन् २०१६ मा अमेरिकी गायिका बियोन्से र फिलिप ग्रीनद्वारा सहसंस्थापित स्ट्रीटवेयर ब्र्यान्ड हो ।[१][२][३]
अक्टोबर २०१४ मा बियोन्से र टपशपको एक संयुक्त उपक्रमको घोषणा गरिएको थियो जुन पार्कवुड टपशप एथ्लेटिक लिमिटेडको अधीनमा कार्यरत थियो ।[४] सन् २०१५ मा सार्वजनिक हुनुपर्ने आइभी पार्कको संस्थापन सन् २०१६ को वसन्तमा सारिएको थियो ।[५] अप्रिल १४, २०१६ मा आइभी पार्कका उत्पादनहरू अनलाइन तथा अफलाइन बजारमा उपलब्ध भएका थिए ।
नोभेम्बर १४, २०१८ मा सहसंस्थापक फिलिप ग्रीनको यौन दुर्व्यवहार र वर्णभेदको कारण आइभी पार्कको पूर्ण स्वामित्व पार्कवुड इन्टरटेनमेन्टले प्राप्त गर्यो ।[६]
एल पत्रिकाको मे संस्करणका लागि दुइटा आवरण प्रस्तुत गरी मार्च ३१, २०१६ मा बियोन्सेले आधिकारिक रूपमा आइभी पार्कलाई सार्वजनिक गरेकी थिइन् । एलको यस संस्करणमा कलाकारसँगको अन्तर्वार्ता प्रकाशित गरिएको छ जसमा उनले यो ब्र्यान्डको उद्देश्य र यसले महिलाहरूमा पर्ने प्रभावको बारेमा बातचित गरेकी छिन् ।[७] उनले यस ब्र्यान्डको मध्यमबाट महिलाहरूलाई सौन्दर्य भनेको शरीरमा मात्रै आधारित हुँदैन भन्ने आभास गराउन चाहन्छिन् ।[८] त्यही दिन उनले आफ्नो व्यायाम गर्ने तरिका र आइभी पार्कका उत्पादनका झलक देखाउँदै एउटा भिडियो सार्वजनिक गरिन् । त्यही भिडियोमा उनले सो ब्र्यान्डको नाम र महत्त्व बुझाइन् - आइभीले उनकी छोरी ब्लू आइभी कार्टरलाई जनाउँछ भने पार्कले चाहिँ बियोन्सेको गृहनगर ह्युस्टनमा रहेको पार्कवुड पार्क जनाउँछ ।[७] उनले सो भिडियोमा विवेचना गरिन्:
म बिहान उठ्दा मेरो बुबा मलाई दौडमा लग्न मेरो कोठाको ढोका बाहिर उभिरहनु भएको हुन्थ्यो । मलाई दौड रोकी यतिकै बस्न मन लाग्थ्यो तर म आफैँलाई अझै दौडिन धक्का दिन्थेँ । त्यसले मलाई अनुशासन सिकायो । म आफ्नो सपनाको बारेमा सोच्थेँ । मेरा अभिभावकले मेरो लागि त्याग गरेका, समर्पण गरेका अवसरको बारेमा सोच्थेँ । म आफ्नी बहिनीको बारेमा सोच्थेँ, उसको लागि म नायिका थिएँ । म मेरो वरिपरि रहेको सौन्दर्यमा हराउँथेँ, रुखमा लागेको घामलाई हेर्थेँ । म श्वास फेरिरहन्थेँ । संसारमा अझै पनि धेरै कुराहरू छन् जसको मलाई डर छ । जब मलाई ती डर, ती चुनौतीहरूको सामना गर्नु पर्छ, तब म त्यो पार्कमा फर्किन्छु । मञ्चमा प्रस्तुति प्रदर्शन भन्दा अगाडि म त्यो पार्कमा फर्किन्छु । मैले जन्म दिनु भन्दा अगाडि म त्यो पार्कमा फर्केकी थिएँ । त्यो पार्क मेरो मनोस्थिति बन्न पुगेको छ । त्यो पार्क मेरो शक्ति हो । त्यो पार्कको कारणले म म बनेकी छु । तपाईँको पार्क कहाँ छ ?[७]
स्पोर्ट्सवेयर ब्र्यान्ड अन्तर्गत $३० देखि $२०० को मूल्य दायरामा पर्ने टप, बटम, स्विमवेयर र गौण उपलब्ध छन् ।[९]
अप्रिल ४, २०१९ मा बियोन्सेले आइभी पार्क र एडिडासको साझेदारीको घोषणा गरिन् ।[१०] खुद्रा व्यापारी टपशपसँगको साझेदारी तोडिए पछि यो साझेदारीले आइभी पार्क पुनः सार्वजनिकीकरणको चिनो बन्यो । आइभी पार्कको आधिकारिक वेबसाइटमा प्रकाशित लेखमा बियोन्सेले एडिडास प्रति आभार व्यक्त गर्दै उनीहरूको साझेदारीको सफलताको कामना गरिन् ।[११] यो पुनः सार्वजनिकीकरणसँगै नयाँ जुत्ता, प्रदर्शन गियर र जीवनशैली पहिरन पनि उपलब्ध भए ।[१२]
आइभी पार्क x एडिडासको आधिकारिक रूपमा सार्वजनिकीकरण हुनु भन्दा एक हप्ता अगाडि बियोन्सेले प्रभावक र प्रशंसकहरूलाई जुत्ता र पहिरन भएको सुन्तला रङ्गको ठूलो बाकस पठाएकी थिइन् । एलेन डिजेनेरस, कार्डी बी, केन्डल जेनर, सिएरा, मिसी एलियट, रीज विदरस्पून र हेली बीबर लगायत अन्य कलाकारहरूले उक्त बाकस उपहारस्वरूप प्राप्त गरेका थिए ।[१३][१४]
जनवरी १७, २०२० मा आइभी पार्क x एडिडासको सामाजिकीकरणको केही घण्टामा नै एडिडासको वेबसाइटमा भए जति सबै उत्पादनहरूको बिक्री भइसकेको थियो ।[१५] एडिडासको वेबसाइटमा विश्वव्यापी स्तरमा किन्न मिल्ने व्यवस्था गरिएका उत्पादनका सबै प्रति संयुक्त राज्यमा ब्लूमिङडेल्स, नोर्डस्ट्रम, फुट लकर र फिनिश लाइनबाट पनि जनवरी १८बाट बिक्री भइसकेको थियो ।[१६] छिटै बिक्री भई आफूले खरिद गर्न नपाउँदा कयौँ प्रशंसकले सामाजिक सञ्जालमा आफ्नो निराशा व्यक्त गरे ।[१७][१८][१९]
एनपीडीका विशिष्ट फुटवेयर विश्लेषक म्याट पावेलले आइभी पार्क x एडिडासले कान्ये वेस्टको यीजी लगायत अन्य एडिडास साझेदारीको बिक्रीलाई उछिन्ने अनुमान गरेका छन् ।[२०][२१]
मे २०१६ तिर द सन नामक बेलायती पत्रिकाले आइभी पार्कले श्रीलङ्कामा रहेका कार्मचारीलाई उनीहरूको न्यूनतम दैनिक आय भन्दा कम पैसा तिरी $६.१७ दिई थोरै मूल्यमा बढी काम गराउँछ भन्ने खबर छापियो । आइभी पार्कका प्रतिनिधिले यस आरोपलाई अस्वीकार गरे ।[८][२२] सिबिएस न्यूजले यस विषयमा थप जाँचपर्ताल गर्दा श्रीलङ्काको न्यूनतम दैनिक आय $२६८ भएको र कामदारहरूले त्यसको दोब्बर कमाएको थाहा भयो ।[२२]