गीता त्रिपाठी | |
---|---|
गीता त्रिपाठी | |
![]() कवि तथा गीतकार गीता त्रिपाठी | |
जन्म | गीता थपलिया २८ जुन १९७२ खरेलथोक, काभ्रेपलाञ्चोक |
वासस्थान | भक्त मार्ग, बालुवाटर, काठमाण्डौं |
राष्ट्रियता | ![]() |
नागरिकता | नेपाली |
शिक्षा | विद्यावारिधि (नेपाली साहित्य) |
मातृ शिक्षाप्रतिष्ठान | त्रिभुवन विश्वविद्यालय |
पेशा | लेखन, अध्यापन |
संस्थान | त्रिभुवन विश्वविद्यालय, नेपाल प्रज्ञाप्रतिष्ठान[१] |
चिनारीको कारण | कविता, कथा, निबन्ध, समालोचना |
उल्लेखनीय कार्य | नृशंस पर्खालहरू, सिमलको गीत, म एक्लो र उदास उस्तै |
गृहनगर | काठमाण्डौं |
जीवनसाथी | यादव त्रिपाठी[२] |
सन्तान | समीप[२] |
मातापिता | वेदराज थपलिया, रमादेवी थपलिया[३] |
पुरस्कार | सर्वोत्कृष्ट गीतकार पुरस्कार - २०६४, पद्मकन्या स्वर्णपदक - २०५७[२][४] |
गीता त्रिपाठी (अङ्ग्रेजी: Geeta Tripathee, जन्म: विक्रम सम्बत् २०२९ असार १५, तदनुसार सन् १९७२, जुन २८) नेपाली कवि तथा गीतकार हुन्। नेपाली साहित्यमा स्पष्ट पहिचान सहित सिर्जनारत त्रिपाठीका कविता, गीत तथा समालोचनाका करिब एक दर्जन पुस्तक प्रकाशित रहेका छन्। पद्मकन्या स्वर्ण पदक तथा सर्वोत्कृष्ट गीतकार पुरस्कारलगायत विभिन्न पुरस्कार तथा सम्मानाट विभूषित त्रिपाठीले त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमा विद्यावारिधी गरेकी छन्।[२][५][६]
गीता त्रिपाठीको जन्म वि.सं.२०२९ साल असार १५ गते बरबन्दी, खरेलथोक, काभ्रेपलाञ्चोक जिल्लामा भएको हो। पिता वेदराज थपलिया तथा माता रमादेवी थपलियाका कोखबाट काइँली सुपुत्रीका रूपमा गीता थपलियाको जन्म भएको हो। उचित लालनपालन, शैक्षिक वातावरण र जन्मस्थानको सुन्दर प्राकृतिक परिवेश पाएकी गीता सानै उमेरदेखि नै अध्ययन र सिर्जनात्मक लेखनमा सक्रिय भइन्। उनको बाल्यकालीन जीवन नेपाली पहाडी जीवनशैली अनुसार गाउँ र बेँसी दुवैको अनुभव बटुल्दै बित्यो। [२][४]
गीता त्रिपाठीले त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमा विद्यावारिधी गरेकी छन् । उनले तीन वर्षको उमेरमा आफ्ना पिताबाट अक्षरारम्भ गरिन् । उनको औपचारिक शिक्षा भने पाँच वर्षको उमेरदेखि आरम्भ भयो। उनले श्री भगवती माध्यमिक विद्यालय, जोगीथुम्का, खरेलथोकबाट २०४५ सालमा १६ वर्षको उमेरमा एसएलसी उत्तीर्ण गरी काठमाडौँको त्रिभुवन विश्वविद्यालयबाट २०५७ सालमा स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरिन् । यसपछि उनले त्रिभुवन विश्वविद्यालयबाट एमफिल तथा विद्यावारिधि गरिन् । [२][३]
गीता त्रिपाठीले सहायक प्राध्यापकका रूपमा ब्रिटिस गोर्खा कलेज बाँसबारी, काठमाडौँबाट सन् २००० देखि सुरु गरिन् र यस कलेजमा उनी सन् २०१६ सम्म संलग्न रहिन्। उनले सन् २००३बाट सेफर्ड कलेज अफ मिडिया टेक्नोलोजीमा प्राध्यापन सुरु गरी सन् २०१९ सम्म निरन्तरता दिइन्। उनले साउथवेस्टर्न स्टेट कलेज बसुन्धरा, काठमाडौँमा सन् २०११ देखि सन् २०१७ सम्म प्राध्यापन गरिन्। हाल उनी त्रिभुवन विश्वविद्यालय, रत्न राज्यलक्ष्मी क्याम्पसमा उपप्राध्यापकका रूपमा कार्यरत छिन्।[२][४]
गीता त्रिपाठी सानै उमेरदेखि साहित्य सिर्जनामा रुचि राख्थिन्। उनको साहित्य यात्राको औपचारिक आरम्भ भने २०४५ सालमा विरुवा त्रैमासिकमा गीता थपलियाका नामबाट प्रकाशित स्वच्छता शीर्षकको गीति कविताबाट भएको हो। स्कुल जीवनदेखि नै कविता रचना र सुन्दर वाचन कलाले गर्दा विभिन्न प्रतियोगितामा पुरस्कृत भएकी गीताको साहित्य सिर्जनाले पद्मकन्या कलेजमा स्नातकोत्तर तहमा नेपाली साहित्यको विशिष्ट अध्ययन गर्दा पाएको साहित्यिक परिवेशबाट खारिने अवसर पायो। यस अवधिमा उनले क्याम्पस स्तरीय कविता र निबन्ध प्रतियोगितामा सहभागी हुँदै पुरस्कार र सम्मानहरू प्राप्त गरिन्। उनको पहिलो पुस्तकका रूपमा गीत सङ्ग्रह थुङ्गा : वनफूलका(२०६१) प्रकाशित भयो। यही साल उनी द्वारा रचित नौ वटा गीतहरूको एलबम एक्लै...एक्लै रेकर्ड भई श्रोतामाझ आयो। त्यसयता उनको साहित्य सिर्जनाका विविध विधागत योगदान फैलिँदै गएका छन्। उनका गीत, कविता, निबन्ध तथा समालोचना विधाका गरी एक दर्जन कृति प्रकाशित भएका छन्। उनको दोस्रो गीति एलबम सारांश (२०६५) सालमा रेकर्ड भई श्रोतामाझ लोकप्रिय भएको छ। उनका कविताहरू जापान, कोरिया, भारत र अमेरिकाका विभिन्न पुस्तक तथा पत्रिकाहरूमा तिनै देशका भाषामा अनुवाद समेत भई प्रकाशित भएका छन्। गीता त्रिपाठीको लामो काव्य यात्रामा उनका केही कथाहरू पनि प्रकाशित भएका छन्। उनले अनुवाद गरेका केही भारतीय कविहरू कुँवर नारायण, गुलजार लगायतका कविता-कथा विभिन्न पत्रिकामा प्रकाशित भएका छन्। गीताका तीन दर्जनभन्दा बढी गीतहरू सङ्गीतबद्ध भई रेकर्ड भएका छन्। गीताका कविताका सन्दर्भमा प्राध्यापक डाक्टर अभि सुवेदीले राखेका दृष्टिकोणबाट गीता त्रिपाठीको काव्यिक क्षमता मुखरित भएको छ।[७][८][९][१०][११]
गीता त्रिपाठीले विभिन्न विधामा कलम चलाए पनि मूलतः उनी कवि हुन्। उनका मुक्त लयका कवितामा कवित्व शक्ति प्रबल रहेको छ। त्यसैले उनका निबन्ध र आख्यान लेखनमा कवितात्मक भाषाको मिठास पाइन्छ। जीवनका विविध पक्षहरूको बिम्वात्मक प्रस्तुतिमा सफल कवि त्रिपाठीको कविता शिल्पगत हिसाबले व्यञ्जनाधर्मी छ। सरल र सहज काव्यगुण भएका उनका कविताहरू बौद्धिक भएर पनि सरल छन् भने सरल भएर पनि बौद्धिक छन्। भावको प्रबलताले उनका कवितालाई संवेदनाको गहिराइमा पुर्याएको पाइन्छ। उनका कविताले जीवन र मृत्युका व्यक्तिगत, सामाजिक र सांस्कृतिक पक्षमाथि मौलिक दृष्टिकोण हुँदै विश्वदृष्टिको अभिव्यञ्जना गरेको छ। यसरी नै त्रिपाठी गीत रचनामा पनि अब्बल मानिन्छिन्। उनका गीतमा प्रेम, प्रकृति, वात्सल्य र जीवनका सूक्ष्म संवेदना प्रकट भएको पाइन्छ। साङ्गीतिक पक्ष सचेततापूर्वक बहन गरिएका उनका गीतहरू गायनका निम्ति अनुकूल रहेका छन्। उनका तीन दर्जनभन्दा बढी गीतहरू लोकआधुनिक शैलीमा गाइएका छन्। गीताका निबन्धहरू पाठकमाझ निकै रुचाइएका छन्। उनका निबन्धमा निजात्मक अनुभूतिलाई निर्वैयक्तिक बनाउने सामर्थ्य रहेको छ। गीताले चिन्तनप्रधान विशुद्ध, संस्मरणात्मक, व्यक्तिवृत्त र यात्रानुभूति जस्ता निबन्धहरू लेख्दै आएकी छन्। युग चेतनाको संवाहक उनका निबन्धमा समकालीन परिवेश र त्यसमाथि भइरहेका सामाजिक, राजनीतिक, सांस्कृतिक विसङ्गतिप्रति विद्रोह र प्रतिरोधी विचारोत्तेजक स्वर समेत प्रकट भएका छन्। उनका यात्रा निबन्धले यात्रारत स्थान र पात्रगत सन्दर्भलाई निकै अनुभूतिशील भएर प्रस्तुत गरेका छन्। गीताका आधा दर्जन कथाहरू फुटकर रूपमा प्रकाशित भएका छन्। उनका प्रायः कथामा प्रथम पुरुष दृष्टिकोणको प्रयोग गरिएको छ। उनका कथामा नारी समस्या र मनोविज्ञानको प्रयोग भएको बताइन्छ।[२][३][७]
नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ सभा सदस्य, गीता त्रिपाठी नेपाली नारी साहित्यकारहरूको संस्था गुञ्जन (२०५४) का कार्यकारी सदस्य (वि.सं. २०६६ देखि) हुन्। यसरी नै उनी छिन्नलता गीत पुरस्कार गुठीकी कार्यकारी सदस्य हुन्।[१]
गीता त्रिपाठीको व्यक्तिगत स्वभाव सरल र संवेदनशील छ। उनको विवाह २०४६ साल वैशाख २० गते यादवराज त्रिपाठीसित सम्पन्न भयो। कानून विषय अध्ययन गरेका यादवराज त्रिपाठी उद्योग व्यवसायी तथा समाजसेवी हुन्। त्रिपाठी दम्पत्तिका एक सन्तान, समीप छन्।[२]