म्ह पूजा चन्द्रमानक नेपाल सम्वत् अनुसारको नयाँ वर्षको सुरुवात कछलाथ्व पारु (कार्तिक शुक्लपक्ष प्रतिपदा) तिथिका दिन नेवार समुदायले मनाउने पर्व हो । यस पर्वमा हिन्दु तथा बौद्ध दुवै समुदायका नेवारहरूले आफूले आफैलाई पूजा गरी सुस्वास्थ्य तथा दिर्घायुको कामना गर्ने गरिन्छ । यसका लागि परिवारका सबै सदस्यहरू अनिवार्य रूपमा एकै ठाउँमा बसी आफूलाई मण्डलमा प्रतिविम्वित गरी आफैले आफ्नो पुजा गरिन्छ । म्ह पूजा हिन्दु तथा बौद्ध दुवैले श्रद्धापूर्वक मनाउने भएकोले पर्वलाई धार्मिक समन्वयको कडीको रूपमा पनि लिइएको छ । म्ह पूजाका लागि परिवारको सबै भन्दा जेठी आमाले पूजा अघि सारी आफ्नो आफै पुजा गर्न लगाइन्छ । आफ्नो प्रतिविम्व सार मण्डलमा चित्रित गरी आफूलाई चिन्ने ज्ञानदर्शन प्राप्त गरी जीवन सुख आनन्दमय बनाउने र सुस्वास्थ्य दिर्घायुको कामना गर्ने गरिन्छ । विदेशमा बसेका नेपालीहरूले पनि यस म्ह पूजालाई आफ्नो मौलिक पहिचानका रूपमा मनाउने गरेको छ ।[१] [२][३] [४]
यस दिन परिवारका सबै सदस्य भेला भएर म्ह पूजा गर्ने चलन छ । नेवार भाषामा ‘म्ह’ भनेको शरीर हो। हिन्दु र बाैद्ध दर्शनमा ‘म्ह’ लाई बुझ्ने दृष्टिकोणमा भिन्नता छ । तसर्थ यी दुई मतका अनुयायीहरूले आ-आफ्नै दर्शन अनुसार ‘म्ह’ लाई परिभाषित गरी त्यसै अनुरूप पूजा गर्ने गरिन्छ ।
हिन्दु परम्परानुसार म्हःपूजाको अभिप्राय
हिन्दूमत अनुसार आफ्नो शरीर परमात्माको घर भएकोले आफूले आफ्नै शरीरलाई पवित्र मन्दिरको रूपमा देखी आराधना गर्दछन् । यस्तै नै समग्र देवताहरूको ऊर्जाशक्ति एवं विश्व ब्रम्हाण्ड मानव शरीरभित्र रहेको विश्वास गर्दै यहिं शरीरभित्र परमेश्वरको बास हुने मान्यता राखी नित्य, अजर, अमर, शाश्वत्, ध्रुव, निरपेक्ष आत्माकाे पूजाको परम्पराका रूपमा यो पर्व विकास भएको पाइन्छ । भविष्यपुराण, नेपालवर्षक्रिया, ज्याैतिषतन्त्र, कालविवेक आदि जस्ता विभिन्न संस्कृत साहित्यमा म्हपूजालाई स्वपूजा, स्वदेहपूजा, आत्मपूजाका नाममा उल्लेख भएको पाइन्छ ।[५]
बौद्ध परम्परानुसार म्हःपूजाको अभिप्राय[६]
म्ह = काय, वाक् र चित्त - भगवान् बुद्धको उपदेशमा ईश्वर वा आत्माको अवधारणालाई किमार्थ स्वीकार गरिंदैन । बौद्धहरूले ‘म्हः पूजा’ लाई ‘आत्मपूजा’ भनी भन्नै नहुने चाहि होइन तर यसो भन्दा यहाँ कुनै शाश्वत् आत्माको कल्पना गरेको नभई शाब्दिक रूपमा ‘आफू’ भन्ने अर्थमा मात्र प्रयोग भएको बुझ्नु पर्छ । यस्तै शाब्दिक रूपमा ‘म्हःपूजा’को अर्थ शरीरको पूजा हो । तर महायान वज्रयान उपदेशहरूको अनुसरण गर्ने नेवाः बौद्ध परम्परामा म्ह भन्नाले काय, वाक् र चित्तको एकात्मक अर्थमा लिइन्छ । अतः म्ह पूजामा तीनै द्वार (काय, वाक् र चित्त) को शोधन गरिन्छ ।
म्हपूजा = धलँ दनेगु = व्रत अनुष्ठान - नेवार भाषामा म्हपूजालाई ‘धलँ दनेगु’ भनि सम्बोधन गरिन्छ जसको अर्थ व्रत अनुष्ठान हो । यो व्रत अनुष्ठान पश्चात् त्यस व्यक्तिले त्रिद्वारबाट हुने दश अकुशल कर्महरू गरेका भए ती कुनै पनि हालतमा पुनः नगर्ने संवर लिइन्छ । यस म्ह पूजामा अष्टमंगल चिन्हहरूको मण्डल बनाएर, पञ्चोपचार पूजा, बोधिचित्तोत्पाद, स्वस्तिवाक्य र मंगलाष्टव गाथा वाचन गरेर आफ्नो पूजा गरिन्छ । त्यस पश्चात् प्रज्ञोपायस्वरूपी अण्डा र मत्स्यको सगुन लिइन्छ।
क्षणसम्पदयुक्त मनुष्य शरीरको दुर्लभताको भावना - बुद्धोपदेशमा क्षण सम्पदयुक्त मनुष्य शरीरलाई अत्यन्त दुर्लभ र अमूल्य मानिन्छ । पूर्व जन्महरूमा अप्रमाण पुण्य सम्भार गरेको र असंख्य कुशल प्रणिधान गरेको कारण मात्र दुर्लभ मनुष्यको प्राप्ति सम्भव हुन्छ । तर यो शरीर एकदमै अनित्य पनि छ । हाम्रो शरीर जुनैबेला पनि मर्न सक्छ ।
तथागतगर्भ साक्षात्कार गर्ने प्रणिधान - दुर्लभ मनुष्य शरीरमार्फत नै बुद्धत्त्व पनि हासिल गर्न सकिन्छ । किनभने सबै प्राणीहरूमा तथागतगर्भ विद्यमान छ तर त्यसलाई आगन्तुक मल (अस्थायी क्लेश र ज्ञेय आवरणहरू) ले धपक्कै छोपेका हुन्छन् । ती आगन्तुक मलहरू हटेर जानासाथ हामी बुद्ध नै हुन्छौं । यसमा कुनै शंका छैन । यो भगवान्को उपदेश हो । यसैलाई श्लोकका रूपमा हेवज्रतन्त्रमा यसरी बताइएको छ :
सत्त्वा बुद्धा एवं किं तु आगन्तुमलावृताः । तस्यापर्कषणत् सत्त्वा बुद्धा एवं न संशयः ।। ६९ ।। (हेवज्रतन्त्र) ।
यद्यपि, यस शरीरको साथमा बुद्धत्त्व प्राप्त नभइन्जेलसम्म हाम्रो यो शरीर रोग, व्याधि र अकालमृत्युबाट मुक्त भइ बस्न सकेमात्र सद्धर्म अभ्यास प्रभावकारी तवरले अगाडि बढाउन सकिन्छ । यो कुराको विशेष ख्याल राखिकन एक बाैद्ध साधकले अष्टमंगलको मण्डल बनाएर स्वस्तिवाक्य र मंगलाष्टव गाथा वाचनसहित सगुन ग्रहण गरेर आरोग्य र दिर्घायुको कामना सहित सम्यक्सम्बोधि वा तथागतगर्भ साक्षात्कारको आधार यस दुर्लभ मनुष्य शरीरको पूजा गरिन्छ ।
भूमि, मार्ग र फललाई चिनाउने - तथागतगर्भ भूमि हो भने मार्ग चाहिँ सद्धर्म अभ्यास हो र फल बुद्धत्त्व प्राप्ति वा तथागतगर्भको साक्षात्कार हो । त्यसै क्रममा हेतु वा भूमिको प्रतीकका रूपमा मूल मण्डलभित्र धानको मण्डल बनाइन्छ । भूमिलाई आदि वा सुरुवातको रूपमा पनि लिन सकिन्छ । त्यस्तै मार्गको प्रतीक अक्षता (नेपालभाषः आख्यः) को मण्डल हो । यसलाई मध्य पनि भनिन्छ । फलको प्रतीक लावा (नेपालभाषाः ताय्) हो । यसलाई पर्यवसान वा अन्त पनि भनिन्छ । यस मूल मण्डललाई दीगो बनाइराख्न सबैभन्दा बीचमा तेलको मण्डल छाप लगाइन्छ । यसका अर्को उल्लेखनीय कुरा के हो भने तेलमा भिजाइएका दुईटा सलेदोलाई शरीराकृति बनाएर बालिन्छ । यसको तात्पर्य तेजले युक्त भएर हाम्रो शरीरले आरोग्यता प्राप्त गरोस् भन्ने हो । अतः प्रकारान्तरले म्हपूजा आफ्नो चित्तको यथार्थ स्वरूप तथागतगर्भको पूजा हो ।
यस पुजा शुरू गर्न सर्वप्रथम घरको बुइगलमा वा अन्य खुला कोठाको भुईंमा ढुंगाको धुलो प्रयोग गरी परिवारका प्रत्येक सदस्यको लागि एक एकवटा मण्डल बनाइन्छ। यस बाहेक सबैभन्दा माथि एक र सबैभन्दा मुनि एक गरी दुई वटा थप मण्डल देवताका लागि बनाइन्छ । यस बाहेक पानीले भरिएको गाग्री, नाङ्लो र कूचोको लागि पनि मण्डल बनाइन्छ । मण्डललाई रँगहरू प्रयोग गरी सिंगारिन्छ र फलफूल, धूप, फूल, जजंका (यज्ञोपवित) आदि सामग्रीहरूले सजाइन्छ ।
परिवारका सबै सदस्यहरू लहरै पलेटी कसेर मण्डल सामुन्ने परी बस्दछ । परिवारको सवैभन्दा जेठी आमाले शुरूमा सूर्य रूपी सुकुण्डालाई पूजा गरी सबै मण्डलहरू पूजा गर्दछ । तत् पश्चात् सबैलाई 'धौ सगँ' दहिको सगुन दिइन्छ । त्यस पछि सवैले लामो कपडाको बत्ती (खेलु इताः) मण्डल माथि बालिन्छ । बालिएको खेलु इताःले दिप्तमान् भइरहेको मण्डलको पूजा गरी आमाले सजाइएको विमिरा, अन्य फलफूल, जजंका, गोदावरी फूल र बत्ती सबैको हातहातमा दिइन्छ र सबै सदस्यले ती सामग्रीहरू निधारले ढोगी ग्रहण गरिन्छ ।
यस पश्चात् खेँ सगँ (उसिनेको अण्डा र तेलमा तारेको माछाको सगुन) दिइन्छ । सगुन दिई भातको जाँड तिन पटक सम्म थपी थपी खुवाइन्छ । यसरी जाँड थप्दा कचौरा भुईंमा राख्नु हुँदैन । सगुन ग्रहण गर्दा सगुन दिने आमालाई यथाश्रद्धा दक्षिणा दिइन्छ ।
म्ह पुजा विधि स्थान, क्षेत्र, समुदाय अनुसार विविध स्वरूपमा पाइन्छ । माथि गरिएको वर्णन अनुसारको पुजा अधिकांश समुदायहरूले गर्ने विधि हुन् ।
मण्डलको सामान्य अर्थ संस्कृतमा गोलाकार हो । पुजा साधना प्रयोजनमा मण्डलले विषयको सार अर्थ तथा समग्र स्वरूप जनाउन प्रयोग गरिन्छ ।[७][८][९] यसर्थ म्ह पुजा मण्डलले म्ह (आफू) को सार अर्थ तथा यथार्थ स्वरूप चित्रित गर्दछ । म्हःको विविध पक्षलाई समावेश गरी मण्डलको मध्य विन्दुमा आफूलाई राखिन्छ । मण्डलको बिविध अङ्ग तथा पक्षहरूलाई निम्नानुसार प्रस्तुत गरिएको छ ।
चुनढुंगाको धुलोको प्रयोगः म्ह पुजाको मण्डल चुनढुंगाको धुलोबाट लेखिन्छ । चुनढुंगा उपलब्ध नभएको अवस्थामा चामलको धुलो पनि प्रयोग गरेको पाइन्छ । धुलोलाई सीधै हातमा लिर्इ मण्डल कोर्ने वा साँचो प्रयोग गरी मण्डल वनाउने गरिन्छ । यसरी धुलोले नै लेखिनुको कारण यो मण्डल पुजा पश्चात् मेटाउनु पर्ने भएकोले हो । आफू के हो ? भनी चित्रमा कोरी त्यसको दर्शन गरे पश्चात् त्यसलाई तुरून्तै मेट्नु पर्दछ । जसरी निर्मित मण्डल आफ्नै निर्मित प्रतिविम्व मात्र हो यसरी नै आफूको रूपमा मानिएको 'म' को भावना, आफ्नो भौतिक रूप (physical aspects) तथा चेतसिक (psychic aspects) दुवै पक्ष एेना भित्र देखिने प्रतिविम्व समान हुन् भन्ने थार्थ दर्शनलाई बुझ्नको लागि यसरी धुलोको प्रयोग गरिएको हो ।[१०][११] आजभोली धातुको मण्डल वनाई त्यसमा केहि धुलोको प्रयोग गरी पनि म्ह पुजा गर्न थालेको पाइन्छ ।
अष्टदल पद्माकारः म्ह पुजा मण्डल आठवटा पात भएको कमलको फूलको स्वरूपमा वनाइन्छ । म्हः (आफू) लाई कमलको फूलको रूपमा प्रतिविम्वित गर्नु ब्यक्तिको आदर्श रूप हो । जसरी कमलको बोट हिलोबाट निस्केको भएतापनि कमलको फूल त्यस हिलोबाट अलग भएको हुन्छ र त्यस हिलो प्रति निर्लिप्त भएको हुन्छ । यसरी नै यस संसार रूपी हिलोबाट माथि उठ्न सक्ने आदर्श स्वभाव सवै ब्यक्तिहरूमा विद्यमान छ तर यसलाई नचिनेको कारण वा विर्सिएको कारण हामी संसाररूपी दलदलमा रमाइरहेको र अनन्त दुःखको भुमरीमा परिरहेको कुराको बोध गराउने यस मण्डलको आकृति पद्माकार वनाइएको हो । पद्मको अर्को अर्थ पवित्रता हो । राग, द्वेष र मोह रूपी दलदलबाट अलग्ग रही शुद्ध रहिरहेका काय, वाक् र चित्तको यथार्थ रूप तथागतगर्भलाई नै यथार्थरूपमा आफू भनी चिनाउने यसको उद्देश्य हो ।
कमलको आठवटा पातको अर्थ अष्टमंगल, आर्य अष्टाङ्गिक मार्ग हो ।
षट्कोणाकारः हिन्दुमतानुसार वनाइने मण्डलचाहिं षट्कोणाकार हुन्छ। शैव परम्पराको षट्कोणले प्रकृति र पुरूष वा शिव र शक्ति को एकत्वको स्वरूप नै आफू भएको ज्ञानबोध गराउन खोजिएको हुन्छ । [२][३] वेब्याक मेसिन अभिलेखिकरण २०१६-११-०३ मिति
मण्डलको बीचको वनाइने संकेन्द्रित (Concentric) वृतहरूः .[१२]
अधिकांश प्रचलनहरूमा बीचको विन्दु वरिपरि ४ वटा संकेन्द्रित वृतहरू वनाइन्छ । तिनीहरूको प्रतिक निम्नानुसार छ ।[१३] [१४]
कसैकसैले मण्डलको बीचमा ६ वटा वृतहरू कोरेको पनि पाइन्छ । यी मध्ये सवै भन्दा भित्र चेतन तत्वको प्रतिकको रूपमा तेलको वृत र पञ्चतत्वको प्रतिकको रूपमा क्रमशः आखे (खैरो चामलको पूर्ण अन्न), कालो मास, धान, कालो भटमास र लावा (ताय्) का वृतहरू वनाइन्छ ।
ख्यलुइता बाल्नु
‘ख्यलुइता’को शाब्दिक अर्थ मुहारको प्रतिविम्ब हो । यहाँ ‘ख्य’ को अर्थ ‘मुहार’ हो । यसको लम्बाई आफ्नो मुहारको लम्बाइ बरावर हुनु पर्छ । ८ देखि १० इन्चि सम्म लामो गरी बनाइने कपडाको बत्ती दुइ थान मण्डलको छेउमा राखिन्छ । मण्डल पूजा पश्चात् ती बत्तीहरूको दुवै छेउ बाली तेर्सो र ठाडो पारी प्लस आकारमा मण्डल माथि बालिन्छ । यसको प्रतिकात्मक अर्थ आफूमा सर्वाङ्गीणरूपमा ज्ञानको दीपक प्रज्ज्वलित गर्नु हो । ज्ञानको दीपक बालेको तत्क्षणमा नै अज्ञान रूपी अन्धकार हराउँछ । आफू र जगतको यथार्थ छर्लङ्ग हुन्छ ।
पूजाको अन्तमा सवै परिवारजन एकै पंक्तिमा वसी सुन्दररूपमा सिंगारिएको मण्डल माथि नै थाल राखी परम्परागत नेवाः भोज खाइन्छ । जति सुकै राम्रो सिंगारिएको भए पनि त्यस मण्डलको सुन्दरतामा पटक्कै आशक्त नभई मण्डल विग्रिएला भन्ने सुर्ता नलिइकन अष्टमात्रिकाका प्रतिक स्वरूप आठ परिकारयुक्त भोज खाइन्छ । भोज समाप्त भए पश्चात् मण्डल र थाली रात भरिका लागि त्यतिकै छोडिन्छ र भोलि पल्टमात्र भुइ बढारेर सफा गरिन्छ ।