कुसुमे रुमाल (चलचित्र)

कुसुमे रुमाल
निर्देशकतुलसी घिमिरे
निर्मातासयपत्री फिल्मस्
सङ्गीतरञ्जित गजमेर
प्रदर्शन मिति
सन् १९८५
देशनेपाल
भाषानेपाली

कुसुमे रुमाल तुलसी घिमिरेद्वारा लिखित र निर्देशित नेपाली शृंगारिक चलचित्र हो। सयपत्री फिल्मसको ब्यानरमा सुमित्रा पौडेलद्वारा यो चलचित्र प्रस्तुत गरिएको हो। नेपालमा बनेका नेपाली भाषाका चलचित्रहरूमा यो २०औँ क्रममा आउँछ। तुलसी घिमिरेको निर्देशनमा बनेकामध्ये भने यो दोस्रो चलचित्र हो। भनिन्छ, यही चलचित्रले पहिलपटक प्रदर्शनको रजत जयन्ती मनाएको थियो।[]

यो चलचित्र त्रिकोणीय प्रेमप्रसङ्गमा आधारित छ। हास्यव्यंग्यको पनि प्रशस्त प्रयोग भएको यो चलचित्र २ घण्टा अवधिको छ। ‘कुसुमे रुमाल’, ‘रेली खोला बगर’, ‘सुन भन न’, ‘तिमी नभए जिन्दगानी’ जस्ता गीत प्रयोग भएका छन्। रञ्जित गजमेरको शब्द र सङ्गीतमा तयार गीतहरू उदित नारायण झा, दीपा झा, श्रवण घिमिरे र भारती घिमिरेले गाएका थिए। जुन नेपाली जनजीव्रोले अझैसम्म गुनगुनाइरहेको छ।

भुवन केसी (अर्जुन), उदित नारायण झा (अमर), तृप्ति नाडकर (सुनीति), नीर शाह, प्रदीप पाख्रिन, विश्वमनी आदिले अभिनय गरेका छन्। यसमा दार्जिलिङका हमजाएगा नामका एक चालकले पनि अभिनय गरेका थिए। उनी निकै रसिक र ख्यालठट्टा गरिरहने स्वभावका थिए।

सङ्गीतकार रञ्जित गजमेर र निर्माता तथा प्रदर्शक उद्धव पौडेलबीच यस चलचित्रको स्वामित्वलाई लिएर विवाद भएको थियो। गजमेरले पौडेलबाट आफूलाई धोका भएको आरोप लगाएका छन्। गजमेरले आफ्नो पुस्तक ‘मोहनी मादलको’मा लेखेका छन्, ‘हामीले अत्यन्त विश्वासका साथ पौडेलललाई कुसुमे रुमालको पहिलो प्रिन्ट थमाउँदै नेपाल पठायौं। तर, नेपाल पुगेर उहाँले त्यो चलचित्र आफ्नो नाममा दर्ता गर्नुभएछ। चलचित्र धुमधामले चल्यो। ठाउँठाउँमा सिल्भर जुबली र सय दिन पनि मनायो। फिल्मको कमाइबाट पौडेलले चलचित्र हल निर्माण गर्नुभएको पनि सुनियो। तर, पौडेलले मुनाफाको एक पैसा पनि हामीलाई दिनुभएन। उहाँ एकाएक हामीसँग बैरी हुनुभयो। हाम्रोबीच त्यो बेलादेखि बन्द भएको बोलचाल आज पर्यन्त पनि कायमै छ।’ पौडेलले भने ‘रञ्जित गजमेर फिल्मको आधिकारिक व्यक्ति नै नभएको र आधिकारिक व्यक्ति तुलसी घिमिरे भएकाले यो कुरो पहिले नै मिलिसकेको' प्रतिक्रिया सञ्चारमाध्यमहरूमा दिएका छन्।[][]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]