कुनैपनी देशको नागरिकहरूको सुरक्षा कायम गर्नु गराउनु गृह मन्त्रालयको पहिलो कर्तव्य हो। देश र समाजमा हुने विभिन्न अपराधीक कार्यहरूको नियन्त्रण गरी जनताहरूमा शान्तिको प्रत्याभूति दिने कर्तव्य पनि गृह मन्त्रालयकै हुन्छ। गृह मन्त्रालयको काम गर्ने मन्त्रीलाई गृहमन्त्री भनिन्छ। नेपालमा कुनैपनी मन्त्रालयलाई नतोकिएको काम पनि गृह मन्त्रालयले नै सम्हाल्ने प्रावधान छ।
नेपालको प्रचलित संविधान तथा कानुनद्वारा प्रत्याभूत नागरिक स्वतन्त्रता, विधिको शासन, मानव अधिकार लगायत लोकतान्त्रिक मूल्य र मान्यतालाई सम्मान गर्ने गरी कार्य गर्नु गृह प्रशासनको दृष्टिकोण हो।
शान्ति सुव्यवस्था र सुरक्षा कायम गरी जनताको जिउ, धन र स्वतन्त्रताको संरक्षण गर्नु गृह मन्त्रालयको मूलभूत उद्देश्य हो। मुलुकमा शान्ति सुव्यवस्था र सुरक्षा कायम गरी जनताको जिउ धन र स्वतन्त्रताको संरक्षण गर्नु गृह प्रशासनको मुख्य उद्देश्य हो। गृह प्रशासनलाई सबल र सक्षम बनाई जनतामा सुरक्षाको अनुभूति दिलाउन र सेवा प्रवाहलाई प्रभावकारी बनाइ सुशासन कायम गर्न गृह मन्त्रालय मातहत क्षेत्रीय प्रशासन कार्यालय, कारागार व्यवस्थापन विभाग, अध्यागमन विभाग, प्रहरी कितावखाना, राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्र, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, सीमा प्रशासन कार्यालय तथा सुरक्षा निकायका रूपमा नेपाल प्रहरी, सशस्त्र प्रहरी वल र राष्ट्रिय अनुसन्धान विभाग लगायतका निकायहरू केन्द्र देखि स्थानीय तहसम्म क्रियाशील रहेका छन्।