जगत सुन्दर मल्लसन् १९१५ मा प्रकाशित जगत सुन्दर मल्लद्वारा इसपका दन्तकथाहरूको नेपाल भाषामा अनुवाद
जगत सुन्दर मल्ल (सन् १८८२ - सन् १९५२) एक नेपाली शिक्षाविद र लेखक थिए जसले साधारण जनतालाई शिक्षा दिनमा आफ्नो जीवन समर्पित गरे ।[१][२]
आधुनिक शिक्षाको विरोधी राणा शासनको बेला उनले सरकारको विरुद्ध गई आफ्नै घरमा पाठशालाको स्थापना गरेका थिए ।[३][४][५] उनले अङ्ग्रेजी सिक्नुको महत्त्वमा जोड दिन्थे र बालबालिकाले मातृभाषामा छिटो सिक्छन् भन्ने विश्वास राखी अङ्ग्रेजी पुस्तकहरूलाई नेपाली र नेपाल भाषामा अनुवाद गर्थे ।[६][७] उनलाई नेपाल भाषाका चार स्तम्भमध्ये एकको रूपमा सम्मान गरिएको छ ।[६]
मल्लको जन्म भक्तपुरको खौमामा पिता विष्णुधर र माता जगत लक्ष्मीको छोराको रूपमा भएको थियो । १० वर्षको उमेरमा दरबार हाई स्कुलमा भर्ना हुन उनी आफ्नो परिवारसित काठमाडौँको असनमा सरेका थिए । दरबार हाई स्कुलमा कक्षा १० पुरा गरेपछि उनी कोलकाताको स्कटिश चर्च स्कुलमा पढ्न गए । उनको विवाह जनक लक्ष्मी मल्लसँग भएको थियो ।
मल्लले सन् १९१३ मा भक्तपुरको खौमामा पाठशालाको स्थापना गरे जहाँ उनी अङ्ग्रेजी र नेपाल भाषा सिकाउँथे ।[८] सन् १९१६ मा मल्ल र उनका भाइ, पद्म सुन्दर मल्ल नेपालमा अनुपलब्ध उच्च शिक्षा पाउन जापान गएका थिए । दुबै जनाको लागि पर्याप्त पैसा नभएकाले उनी भारत फर्के ।[२]
पहिलो विश्वयुद्धको बिचमा भारत फर्केका मल्ललाई जासूसीको आरोपमा ब्रिटिश भारतीय सरकारले पक्राउ गरेको थियो । नेपाल सरकारले उनी नेपाली नागरिक भएको प्रमाण नदिनुसम्म उनलाई डेढ वर्षका लागि दरभंगामा कैद गरिएको थियो । सन् १९१७ मा नेपाल फर्केका मल्ललाई आधिकारिक अनुमतिबिना नेपाल छोडेको हुनाले सजाय दिएको थियो ।[९] मानसिक तनाव सहनुपरेपनि उनले पढाउने र किताब लेख्ने कामलाई निरन्तरता दिइराखे ।
अक्टोबर २५, १९९२ मा उनको सम्मानमा भक्तपुर नगरपालिकाद्वारा भक्तपुरमा एक शालिक खडा गरिएको थियो ।[२] सन् १९९१ मा काठमाडौँमा खुलेको नेपाल भाषा विद्यालयको नाम उनको सम्मानमा जगत सुन्दर व्यनकथि राखिएको छ ।[१०]काठमाडौँ महानगरपालिकाले काठमाडौँको एक सडकको ऐतिहासिक खण्डलाई जगत सडक मार्ग नाम दिएको छ ।[११]