नयनराज पाण्डे (अङ्ग्रेजी: Nayan Raj Pandey)(जन्म सन् १९६६, ९ जुन विक्रम सम्बत: २०२३, २७ जेठ)[१] चर्चित नेपाली साहित्यकार हुन् । उनी नेपाली कथाकार, चलचित्रका पटकथा लेखक तथा समकालीन परिस्थितिलाई चित्रात्मक शैलीमा प्रस्तुत गर्ने प्रसिद्ध उपन्यासकार हुन् ।[२]उलार, लू, घामकिरी र सल्लीपिर उपन्यास उनका चर्चित उपन्यासमा पर्दछन् भने निदाएँ जगदम्बा, खोरभित्रको जोकर र चकलेट नामक कथासङ्ग्रह पनि चर्चित छन् ।
आख्यानकार पाण्डेका संस्मरणमात्मक कृति पहिलो गैरआख्यान पुस्तक "यार" पनि प्रकाशित भएको छ ।[३][४][५][६]
पिता स्व.डिल्लीराज पाण्डे काठमाण्डौको सूचना विभागमा कार्यरत भएको बेला नयनराज पाण्डे माता भगवतीदेवी पाण्डेको कोखबाट काठमाडौँको प्युखा टोलमा जन्मिएका भए पनि केही समयपछि पिता नेपालगञ्जको एउटा माध्यमिक विद्यालयमा हेडमास्टरमा नियुक्त हुनुभएपछि माता पितासँगै उनी पनि नेपालगञ्ज पुगे र त्यहीँ नै उनको बाल्यकाल बित्न थाल्यो । विद्यालय स्तरदेखि प्रमाणपत्र तहसम्मको अध्ययन पनि उनको नेपालगन्ज मै सम्पन्न भएको हो । पछि कानुनमा स्नातक तहको अध्ययन गर्ने क्रममा उनी २०४४ सालमा काठमाण्डौ आए र त्यसपछि काठमाण्डौ मै रहेर साहित्य साधना गर्न थाले । तराई मधेशमा रहँदा त्यहाँको जनजीवन, समाज र संस्कृतिलाई नजिकबाट हेर्न र अनुभूत गर्न पाएकोले उनका रचनाहरूमा तराई मधेशका सुखदुख, समस्या, सरोकार र पीडा मुख्यरूपमा प्रस्तुत हुने गरेको छ ।[७]
मुलत:साहित्य लेखनलाई नै जीवनको अभिष्ठ बनाएका नयनराज पाण्डेको राजधानी आगमनसँगै श्रब्य-दृश्य माध्यममा पनि संलग्न भए । टेलिभिजनका लागि धारावाहिक लेखन र चलचित्र लेखनसँगै टेलिश्रृंखला र वृत्तचित्र निर्माण र निर्देशनमा पनि संलग्न हुनथाले । केही वर्ष नेपाल टेलिभिजनको लागि साहित्य र संस्कृतिप्रधान कार्यक्रम अभिव्यक्तिको निर्देशन र निर्माण पनि गरे । उक्त कार्यक्रमका प्रस्तोता पनि उनी आफैँ थिए । करिब दुई दशकसम्म श्रब्यदृश्य माध्यममा संलग्न रहेपछि उनी पुन: साहित्य सिर्जनामै केन्द्रित रहेर पूर्णकालीक लेखकको रूपमा हाल नेपाली साहित्यमा संलग्न छन् ।
आफ्ना कृतिहरूमा रमाइलो पारामा गम्भीर विषय उठान गर्न खप्पिस आख्यानकार पाण्डे उत्कृष्ट लेखन शैलीका कारण भाषाका जादूगर मानिन्छन् । कथा लेखनमा उनी समकालीन परिदृश्यमा आफ्नो आक्रामक तेवरसहित सरल, शिल्प, छरितो भाषा र तीक्ष्ण व्यङ्ग्यचेतका कारण सर्वथा पृथक् देखिन्छन् ।[८]
उनी सधै समाजका सीमान्तकृत ‘सबाल्टर्न’ पात्रहरूलाई केन्द्रमा राखेर लेख्छन् । आजीविकाका लागि तिनले गर्ने दुःखको वरिपरि उपन्यासको हृदय घुमिरहन्छ ।[९]
गाउँमा मधेशको समाज, संस्कृति, मनोवृत्ति र राजनीतिको प्रतिबिम्ब उतार्न र विविध जाति, धर्म र समुदायका मानिस आवरणमा फरक देखिए पनि अन्तरहृदयबाट एक रहेको मन छुने चित्रण गर्न लेखक पाण्डे सफल छन् आफ्ना कृतिहरूमा । उनी नेपाली साहित्यमा मधेसीको सम्वेदना, सीमान्त मधेशीहरूका भावना पस्कन्छन् ।[१०][११] आफ्ना प्रमुख कृति उलारमा सीमान्त तहका जनताको संघर्षकथा, चर्चित उपन्यास लू मा भारतीय सीमावर्ती क्षेत्रको नेपाली जीवनलाई निकटबाट नियाल्ने काम गरेका छन् जसमा मधेशको कथा–व्यथालाई सार्थक औपन्यासिकतामा प्रस्तुत गर्छन् भने घामकिरीमा मिथकको उल्लेख गर्दै गौरवशाली कथावाचन परम्परालाई आधुनिक युगसँग जोडी स्वैरकल्पलाको उत्तम प्रयोग गर्दै पाठकलाई कथानकीय चटकतामा भुलाउन सफल छन् ।[१२][२][१३] पात्रको भाषा र परिवेशलाई आञ्चलिकताको रङ दिएर लेखिएको उनको उलार उपन्यास सामाजिक अध्ययनका दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण मानिन्छ त्यसैले उलारलाई त्रिभुवन विश्वविद्यालयको स्नातक तह, तृतीय वर्षको ऐच्छिक नेपालीको पाठ्यक्रममा समावेश गरिएको छ ।[२]
अघिल्लो उपन्यास ‘घामकिरी’ मा ‘म्याजिकल रियालिज्म’ को प्रयोग गरेका नयनराजले 'सल्लीपिर'मा यही सिद्धान्तको सहाराले किताब बोकेको चौंरी गाउँसम्म पुर्याएका छन् । यस्ता प्रयोग गरी आफ्ना उपन्यास ‘मोनोटोनस’ हुनबाट जोगाउन र पाठकहरूलाई नयाँ स्वाद थपिदिन सिपालु छन् लेखक । राजनीतिका कारण देशमा ‘पहाड भर्सेज मधेश’ मानसिकता विकसित भइरहेको बेला लेखकका रूपमा नयनराजले मानिस जहाँ भए पनि सीमान्तकृतको दुःख समान भएको अनुभूत गराउन सफल छन् । नयनको लेखनीमा विशिष्ट क्षमता भएकैले यो सम्भव भएको हो । सामाजिक सहिष्णुताका लागि एउटा लेखकले अपील गर्ने अर्को सम्यक् शैली नहोला ।[९]
उलार, पहिलो संस्करण २०५३, २०५५, दोस्रो संस्करण २०६५, तेस्रो संस्करण मोटो गातामा २०७१ [१५][१०][१६][१७],२० वर्षे संस्करण, २०७२[१८], (त्रि.वि.वि.को स्नातक तह, तृतीय वर्षको ऐच्छिक नेपालीको पाठ्यक्रममा समावेश गरिएको)
कान्तिपुर दैनिक, नयाँ पत्रिका, राजधानी, नागरिक लगायतका दैनिक, साप्ताहिक पत्रपत्रिकामा नियमित रूपमा साहित्यिक तथा साँस्कृतिक विषय वस्तुमा समसामयिक लेख तथा स्तंभ लेखन ।
सुप्रसिद्ध नाटककार स्व. गोपालप्रसाद रिमालको बहुचर्चित नाट्यकृति “मसान”मा आधारित टेलिश्रृंखलाको निर्देशन । नेपाल टेलिभिजनबाट प्रसारित यो टेलिश्रृंखला “साँस्कृतिक संस्थान”(नाचघर)बाट २०५३ सालमा निर्माण गरिएको हो।
सङ्गीत, चेष्टा, अर्थ लगायतका टेलिश्रृंखलाहरूको लेखन तथा निर्देशन ।
युनिसेफ, आइ.एल.ओ., डि.एफ.आइ.डि, बाल विकास समाज, एबीसी नेपाल, तामाकोशी सेवा समिति, प्रतिलिपी अधिकार रजिष्टारको कार्यालय(नेपाल सरकार) लगायतका संस्थाका लागि दर्जनौ वृत्तचित्रहरूको निर्माण तथा निर्देशन ।
बसाइँ • मलाई माफ गरिदेऊ • फेरि तिम्रो याद आयो • लडाइँ • आफ्नो घर आफ्नो मान्छे • शहीदगेट • जुनतारा • जीवनमृत्यु • सन्तान थरी थरीका • हतियार • जिद्दी • मैना •
शिरीषको फूल
टेलिश्रृंखला लेखन
करुणा • दुई थोपा आँसु • पुष्पाञ्जली • जीवनचक्र • ममता • चेतना • चेष्टा • जीवन यात्रा • कसलाई आफ्नो भनुँ • दुई दिनको जिन्दगानी • किनारा • चाहना मनको