पाकिस्तान |
नेपाल |
---|
नेपाल–पाकिस्तान सम्बन्धले नेपाल र पाकिस्तानबीचको द्विपक्षीय सम्बन्धलाई बुझाउँछ, दुवै देशहरू भारतीय उपमहाद्वीपमा अवस्थित छन्। अगस्ट १९४७ मा ब्रिटिस भारतको विभाजन पछि, नेपालले भारतीय अधिराज्यसँग कूटनीतिक सम्बन्ध स्थापित गर्न अग्रसर भएको थियो, तर पाकिस्तानी अधिराज्यसँग त्यसो हुन सकेको थिएन।[१] २९ मार्च १९६० मा प्रारम्भिक कदम नचालिएसम्म दुई देशबीच आधिकारिक कूटनीतिक सम्बन्ध अस्तित्वमा थिएन। यी सम्बन्धहरू सन् १९६२ देखि १९६३ को बीचमा पूर्ण रूपमा स्थापित भएका थिए।[२] दुवै देशले द्विपक्षीय व्यापार, रणनीतिक र सैन्य सहयोग विस्तार गर्न चाहेका थिए। सन् १९७२ मा बङ्गलादेश मुक्ति सङ्ग्राममा पाकिस्तानको पराजय र पूर्वी पाकिस्तानलाई जनवादी गणतन्त्र बङ्गलादेशको रूपमा अलग गरेपछि नेपालले बङ्गलादेशको स्वतन्त्रतालाई मान्यता दिएको थियो। पाकिस्तानले केही समयपछि नेपालसँग सम्बन्ध विच्छेद गरेको थियो, तर पछि यो पुनः स्थापित भएको थियो।[३]
सन् १९४७ मा भारत स्वतन्त्र भएपछि नेपालले भारतसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको थियो तर पाकिस्तानसँग त्यस्तो सम्बन्ध स्थापना गरेको थिएन। सन् १९५० मा नेपालले भारतसँग शान्ति तथा मैत्री सन्धिमा हस्ताक्षर गरी आर्थिक, रणनीतिक र प्रतिरक्षा सहयोगको व्यापक सम्बन्ध स्थापना गरेको थियो। यसरी नेपाल भारतसँग द्वन्द्वरत पाकिस्तानबाट अलग्गै रहेको थियो।[४][५][६] तथापि, भारतीय प्रभावप्रति नेपालको असन्तोषले नेपाल सरकारलाई जनवादी गणतन्त्र चीन र पाकिस्तानसँग सम्बन्ध विकास गर्न उत्प्रेरित गरेको थियो।[६][७][८] नेपाल र पाकिस्तानबीच सन् १९६० मार्च २० मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। कूटनीतिक सम्बन्ध स्थापनापछि समझदारी र सहकार्यबाट प्रेरित यी दुई देशबीचको मित्रता र सौहार्दताको बन्धन मजबुत भएको छ। वर्तमान द्विपक्षीय सम्बन्धको अवस्था सद्भाव, पारस्परिक सहयोग र मित्रतामा आधारित छ। नेपालले सन् १९६२ मा पाकिस्तानमा आवासीय नेपाली दूतावास र सन् १९७५ मा कराचीमा नेपाली वाणिज्य दूतावास स्थापना गरेको थियो।[९]
नेपाल र पाकिस्तानबीच सन् १९६२ मा कूटनीतिक सम्बन्ध स्थापनाका लागि हस्ताक्षर भएको थियो। सन् १९६३ मा पाकिस्तानका राष्ट्रपति अयुब खानले नेपालको विशेष भ्रमण गर्दा उनीहरूले राजदूत आदानप्रदान र दूतावास स्थापना गरेका थिए।[२] सन् १९६३ मा पाकिस्तानले पूर्वी पाकिस्तान (हाल बङ्गलादेश) को चट्टोग्राम बन्दरगाहमार्फत नेपाललाई स्वतन्त्र व्यापार पहुँच र यातायात सुविधा प्रदान गर्न सहमत हुँदै हवाई सम्पर्क स्थापना गरेको थियो। यो व्यवस्थाले व्यापारिक सुविधाका लागि भारतमाथिको नेपालको निर्भरता कम भएको थियो।[२] सन् १९७१ को भारत पाकिस्तान युद्धका बेला नेपालले आधिकारिक रूपमा तटस्थता कायम गरेतापनि बङ्गलादेशको स्वतन्त्रतालाई मान्यता दिने पहिलो मुलुकमध्ये एक थियो। त्यसको बदलामा इस्लामाबादले दुई दिनपछि काठमाडौँसँगको सम्बन्ध तोडेको थियो।[३]
राजनीतिक रूपमा नेपाल र पाकिस्तान दशकौँदेखि असल मित्रका रूपमा रहँदै आएका छन्। सफल जनआन्दोलन–२ पछि पाकिस्तानले नेपालको लोकतान्त्रिक प्रक्रियालाई समर्थन गर्दै आएको छ। पाकिस्तानले जनआन्दोलनपछि नेपालको संसद् पुनःस्थापना भएकोमा स्वागत गर्दै यस सफलताले नेपालमा दिगो शान्ति र समृद्धिको युगको थालनी गर्ने विश्वास व्यक्त गरेको थियो। पाकिस्तानले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र शान्तिपूर्ण विकासका लागि आफ्नो समर्थन दोहोर्याउँदै आएको छ।[१]
१९औँ सार्क शिखर सम्मेलन एक निर्धारित कूटनीतिक सम्मेलन थियो, जुन सुरुमा १५-१६ नोभेम्बर २०१६ मा पाकिस्तानको इस्लामाबादमा आयोजना गर्ने योजना रहेको थियो। उडी आतङ्कवादी हमलापछि बढ्दो कूटनीतिक तनावपछि भारतले उक्त आक्रमणमा पाकिस्तानको संलग्नता रहेको आरोप लगाउँदै शिखर सम्मेलन बहिष्कार गर्ने घोषणा गरेको थियो।
सार्कका वर्तमान अध्यक्ष समेत रहेको नेपालले सार्क बडापत्रको मर्मअनुसार १९औँ सार्क शिखर सम्मेलनमा सबै सदस्य राष्ट्रको सहभागिता सुनिश्चित गर्न चाँडै उपयुक्त वातावरण सिर्जना गर्न आग्रह गरेको थियो।[१०]
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सार्कलाई यस क्षेत्रका लागि रचनात्मक मञ्च बनाउन र आगामी सार्क शिखर सम्मेलन इस्लामाबादमा आयोजना गर्न पाकिस्तानलाई सहयोग गर्न आफ्नो देश प्रतिबद्ध रहेको बताएका थिए।[११]
नेपाल र पाकिस्तानबीच सन् १९६२ अक्टोबर १९ मा द्विपक्षीय व्यापार लाई बढावा दिने उद्देश्यले व्यापार सम्झौतामा हस्ताक्षर भएको थियो। सन् १९८२ मा भएको अर्को विस्तृत व्यापार सम्झौताको बावजुद द्विपक्षीय व्यापारको मात्रा तुलनात्मक रूपमा ४८ लाख अमेरिकी डलरमा सीमित थियो।[१२] पाकिस्तानले नेपालमा १६ लाख ३१ हजार अमेरिकी डलर बराबरको निर्यात गरेको छ भने नेपालले पाकिस्तानलाई ३१ लाख ६६ हजार अमेरिकी डलर बराबरको निर्यात गरेको छ।[१२] दुवै देशले हालै विशेष गरी कपडा, तेलहन, तेल निकासी र पर्यटनमा द्विपक्षीय व्यापार लाई बढावा दिन प्रयासहरू बढाएका छन्। पाकिस्तानले नेपाललाई ५० लाख अमेरिकी डलर बराबरको ऋण दिने प्रस्ताव गरेको थियो।[१३][१२][१४] नेपाल र पाकिस्तान दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा) र दक्षिण एसियाली आर्थिक सङ्घका सदस्य राष्ट्रहरू हुन्।
नेपाल उद्योग वाणिज्य महासङ्घ र पाकिस्तान उद्योग वाणिज्य महासङ्घले संयुक्त व्यापार परिषद्को स्थापना गरेका छन्। यसको बैठकले दुई देशका व्यापारिक समुदायलाई एकअर्काको देशमा व्यापारिक अवसरहरू भेट्ने र छलफल गर्ने अवसर प्रदान गर्दछ।
पाकिस्तान प्राविधिक सहायता कार्यक्रम अन्तर्गत पाकिस्तानले नेपाललाई औसधि, फार्मेसी र इन्जिनियरिङमा वार्षिक छात्रवृत्ति प्रदान गर्दै आएको छ। पाकिस्तानमा चिकित्सा विज्ञान, इन्जिनियरिङ, फार्मेसी, सूचना प्रविधि, सामाजिक विज्ञान, व्यवस्थापन र आमसञ्चारका क्षेत्रमा उच्च अध्ययन गरिरहेका ५०० नेपाली विद्यार्थी छन्। पाकिस्तानले नेपालका सरकारी अधिकारीहरूलाई दीर्घकालीन र अल्पकालीन तालिम प्रदान गर्दै आएको छ।[१५]
पाकिस्तानले चिकित्सा, दन्त चिकित्सा, फार्मेसी र इन्जिनियरिङमा पाकिस्तान प्राविधिक सहायता कार्यक्रम अन्तर्गत नेपाली विद्यार्थीलाई वार्षिक १५ वटा छात्रवृत्ति प्रदान गर्दै आएको छ। यसबाहेक केही नेपाली विद्यार्थीले स्ववित्तीयकरणका आधारमा मानविकी र व्यवसाय प्रशासनका क्षेत्रमा अध्ययन गर्दै आएका छन्। पाकिस्तानले नेपाली सेनाका अधिकारीहरूलाई अल्पकालीन र दीर्घकालीन तालिम समेत प्रदान गर्दै आएको छ।[१]
नेपाली सेना, पाकिस्तानी वायु सेना, संयुक्त राज्य अमेरिका वायु सेना मिलेर नेपालमा राहत सामग्रीहरू सङ्कलन गर्दै
विसं २०७२ को महाभूकम्पपछि पाकिस्तान सरकारले नेपाललाई तत्काल सहयोग पठाएको थियो। यसले उद्धार र राहत टोलीहरू, खाना, पानी, टेन्ट र अन्य राहत सामग्रीहरू पठाएको थियो। पाकिस्तानले नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो।[१६]
पाकिस्तान सरकारले वि.सं २०७४ मा नेपालको तराई क्षेत्रमा आएको बाढी र पहिरोपीडितलाई राहतस्वरुप नेपाल सरकारलाई १० लाख अमेरिकी डलर प्रदान गरेको थियो।
हालैका वर्षहरूमा नेपालले पाकिस्तानबाट हतियार आयात गर्नेलगायत दुवै देशले सैन्य सहकार्य विकास गर्न थालेका छन्।[१७] सन् २००४ देखि २००६ सम्म भारत, बेलायत र संयुक्त राज्य अमेरिकाबाट प्रजातन्त्रलाई दमन गरेको आरोपमा निन्दा र पृथक् गरिएको नेपाली राजतन्त्रले चीन र पाकिस्तानसँग सैन्य सहकार्य विकास गरेको थियो, जसले राजसंस्थालाई सत्तामा रहन र माओवादी विद्रोह विरुद्ध लड्नका लागि नेपाललाई व्यापक सैन्य सहयोग, हतियार र सैन्य उपकरणको प्रस्ताव गरेका थिए।[१७][१३]पाकिस्तान र चीन दुवैले नेपाललाई मध्यम प्रविधिका हतियार उपलब्ध गराएका छन्।
नेपाल र पाकिस्तानबीच सन् १९७० को मे महिनामा सांस्कृतिक सम्झौतामा हस्ताक्षर भएको थियो, जसको उद्देश्य सांस्कृतिक सम्बन्ध लाई बढावा दिनु, अन्तर-विश्वविद्यालय सम्बन्ध स्थापना गर्नु र रेडियो र टेलिभिजन बीच सहयोग गर्नु थियो। काठमाडौँमा नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्घ सञ्चालनमा रहेको छ। इस्लामाबादमा नेपाल मैत्री समूह पनि सञ्चालन रहेको छ।
नेपाल र पाकिस्तानबीच सन् २००९ को फेब्रुअरीमा पर्यटन सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो। यस सम्झौताले पर्यटन र पुरातत्वमा पारस्परिक सहयोगको व्यवस्था गरेको छ। पर्यटन सङ्गठनहरू र यात्रा र यात्रा सञ्चालकहरूको आदानप्रदान; तेस्रो मुलुकका पर्यटकलाई आ–आफ्नो देशको भ्रमण गर्न प्रोत्साहित गर्न सहयोग गर्ने; पर्यटन सूचना, सामग्री र अनुभवको पारस्परिक आदानप्रदान; पर्यटन-सम्बन्धित चलचित्रहरू र भिडियो-टेपहरूको उत्पादन; र लगानीका लागि संयुक्त सहकार्य गर्ने यसको उद्देश रहेको छ।[१५]
हरेक वर्ष पाकिस्तानबाट करिब पाँच हजार पर्यटक नेपाल भ्रमणमा आउने गरेका छन्।[१८]