माथवरसिंह थापा

श्री मुख्तियार
माथवरसिंह थापा
प्रधानमन्त्री माथवरसिंह शाही वस्त्र र श्रीपेचसहित
नेपालको प्रधानमन्त्री
कार्यकाल
वि.सं १९०० पुस १२ – १९०२ जेठ ६
एकाधिपतिराजा राजेन्द्र
पूर्वाधिकारीफत्तेजङ्ग शाह
उतराधिकारीफत्तेजङ्ग शाह
नेपालको प्रधान सेनापति
कार्यकाल
वि.सं १९०० पौष १२ – १९०२ जेठ ६
पूर्वाधिकारीरणजङ्ग पाँडे
उतराधिकारीअभिमान सिंह राना मगर
व्यक्तिगत विवरण
जन्मवि.सं १८५५ असोज १८
सन् १७९८
बोर्लाङ, गोरखा
मृत्यु१९०२ जेठ ६
सन् १८४५
काठमाडौँ
सन्तान(हरू)रणोज्जल सिंह थापा
अभिभावकs
आफन्तहरूबडाबा भीमसेन थापा, जङ्गबहादुर राणा, ललितत्रिपुरसुन्दरी,

माथवर सिंह थापा उच्चारण (जन्म: वि.सं १८५५ - १९०२) १९०० पौष १२ देखि १९०२ जेष्ठ ६ सम्म नेपालको प्रधानमन्त्री थिए। उनी श्रीपेच धारण गर्ने नेपालको पहिलो प्रधानमन्त्री थिए र ब्रिटिस कन्भेन्सनले पनि पहिलो पटक प्रधानमन्त्रीको सम्बोधन गर्छ। वि.सं. १९०१ फागुन वदि ४ मा उनी नेपालका पहिला प्रधानमन्त्री भए।[]


मुख्तियार माथ्वरसिंह थापा आफ्नै विशिष्ट व्यक्तित्व तथा हिम्मतले नै नेपालको अधिराज्यको शक्तिशाली अधिनायकका रुपमा उदाएका थिए। तर उनमा रहेको घमण्डी स्वभावले गर्दा उनका आफ्नै भारदार पनि उनीदेखि उदासिन हुन थालेका थिए। आफ्ना दुई छोरा तथा दुई चार जना अङ्गरक्षक आठपहरिया बाहेक सच्चा अर्थमा यिनका होतैषी अरु कोही पनि उनको साथमा थिएनन्।[]

उनी अमरसिंह थापा (सानुकाजी)का नाति र काजी नैनसिंह थापाका पुत्र हुन् । काजी नैनसिंह थापाको नेपालको पश्चिम किल्लामा एकीकरणका क्रममा लड्दा गोली लागि मृत्यु भएकाले उनी सानैमा अनाथ भएका थिए ।

उनी बगाले थापा कुलघरानका हुन् । उनका मावली हजुरबुवा रणजीत पाण्डे हुन् जो कालु पाण्डेका भाइ हुन्। सहोदरमा महारानी ललित त्रिपुरा सुन्दरी, उजीर सिंह थापा, गणेश कुमारी र कर्णेल शेरजङ्ग हुन्। यिनी भिमसेन थापाका भतिज तथा जंगबहादुर राणाका मामा थिए। दाजु उजीरसिंहको देहावसान भएको र भीमसेनको पुत्र सानैमा खसेकोले पूरै परिवारकै ज्येष्ठ सदस्य थिए ।

प्रारम्भिक जीवन

[सम्पादन गर्नुहोस्]

छोटाकाजी अमरसिंह थापाका नाती, नयनसिंह थापाका कान्छा छोरा माथवरसिंह थापाको जन्म वि.सं १८५५ असोज १८ गते भएको थियो। वि.सं १८६४ मा काँगडा किल्लाको युद्धमा बडाकाजी अमर सिंह थापाको सहमति बिना नयनसिंह थापाले मनमुखी भै आक्रमण गर्दा शत्रु सेनाको गोलि लागि वीरगति पाउँदा माथवर सिंह थापा सानैमा टुहुरा भए । वि.सं १८६८ मा उनी दाजु उजिरसिंह र आफ्ना हजुरबा अमरसिंह थापासँग बस्न पाल्पा गए ।[]

माथवरसिंह युवा अवस्थामा
प्रधानमन्त्री माथवरसिंहको छाउनीमा स्थित चित्र

सैनिक वृत्ति

[सम्पादन गर्नुहोस्]

वि.सं १८७१-७३ को नेपाल-अंग्रेज युद्धमा माथवरसिंह थापा पनि लडे। उनी वि.सं १८८६ सम्म पाल्पा मुकाम रहेको बुझिन्छ भने वि,सं १८८८ ताका सल्यान र प्युठान क्षेत्रको तैनाथवाला भएका थिए ।[] वि.सं १८९० मा उनलाई सिंहनाथ पल्टनको नाइकेको रूपमा जनरल भीमसेन थापाले गोरखा मुकाम गर्न पठाए ।

छोटा जर्नेल

[सम्पादन गर्नुहोस्]

वि.सं. १८९० मा नेपाल अधिराज्यका तर्फ बाट बर्मा र इरानमा राजदूतहरूका साथ सन्देश तथा खलितापत्रहरू पठाइएका थिए। यसै सन्दर्भमा लन्डनमा ग्रेट बृटेन का सम्राट विलियम चतुर्थ कहाँ पनि राजदूत का साथ खलितापत्र पठाउने भन्ने राजा राजेन्द्र र मुख्तियार भीमसेन थापा बीच सल्लाह भयो। यसै अनुसार मुख्तियारका भतिजा कर्नेल माथवरसिंह थापालाई राजदूतका रुपमा लन्डन पठाउने निर्णय पनि गरियो।

यसै कार्यक्रम अनुसार वि.सं १८९२ को कार्तिकमा सिंहनाद नामक नयाँ कम्पु पल्टन खडा गरियो र यस पल्टनको तैनाथी दिई मथवरसिंह थापालाई कर्नेलको पदबाट 'छोटा जर्नेल' पदमा पदोन्नति गराइयो।

बेलायत यात्राको प्रयास

[सम्पादन गर्नुहोस्]

छोटा जर्नेल माथवर सिंह थापालाई बेलायतको लन्डन सहरतर्फ प्रस्थान गराउन तिथि मिति सबै निश्चित गरिए। लन्डन सम्मै पुग्ने केही सैनिक अफिसर र कलकत्तासम्मकलकत्तासम्म मात्र जाने ६५० जति सैनिकलाई पनि साथमा लिई बडो सजधजका साथ कलकत्ता सहर पिगेका छोटा जनरल माथवरसिंह थापाले त्यहाँ आफ्नो शिष्टता एवम् शालिनता प्रकट गर्नुको साटो उल्टो अनावश्यक तडकभडक का साथै निकै आर्थिक अपव्यय पनि गरिदिए।

छोटा जनरल माथवरसिंह थापालाई लन्डन सम्म पुग्न राहदानीपत्र उपलब्ध नगराएर यिनले लगेको ब्रिटिस सम्राट विलियम चतुर्थका नाममा पठाइएको राजा राजेन्द्रविक्रम शाहको खलिता पत्र एवम् उपहारहरूसमेत आफैंले बुझेर लिई भारतका कम्पनी सरकारका गभर्नर जनरल सर चार्ल्स मेटकाल्फले उक्त सबै सरसामान लन्डन राजभवनमा पठाइदिने जिम्मेवारी पनि स्वयम्ले नै ग्रहण गरे। यथार्थमा यो राजदूत बि एच हजसनको मुख्तियार तथा जनरल भीमसेन थापामाथिको कूटनीतिक कठोर प्रहार थियो।[]

उनी भिमसेन थापा का भतिज थिए र भिमसेन थापालाई विषमुद्दामा दण्ड दिइदा उनी भागेर भारत पुगेका थिए।

माथवरसिंह थापा नेपालमा बसिरहन कल्याण नदेख्ता नेपालबाट भीमसेन थापाको सङ्केत मा लाहोरतिर जान भनी विदेसिँदा सिमलामा अङ्ग्रेजका नजरमा परी पन्जाबमा छिर्न नपाई पाहुनाको रुपमा ससानो जागिर टिपी बसे।

शक्तिमा उदय

[सम्पादन गर्नुहोस्]

पछि उनी नेपाल बोलाईए र राजेन्द्र विक्रम शाहकी दोस्री रानी महारानी राज्यलक्ष्मी द्वारा नेपालका प्रधानमन्त्री बनाइए । रानीको भित्री मनसाय

राजा राजेन्द्रकी कान्छी रानी लक्ष्मीदेवीले भारतको सिमलामा निर्वासित जीवन बिताइरहेका माथवर्सिंह थापालाई बोलाउने निर्णय गरिन्। र विसं १९०० वैशाख ६ मा माथवर सिंह थापा काठमाडौंमा उत्रिए। राजधानी काठमाडौंमा उत्रिए पछि "सबैभन्दा पहिले मेरो थापा परिवार माथी लागेको विषमुद्धाको कलङ्कलाई नपखाली म आफ्नो घर पस्दिनँ।" भनी काठमाडौं सहरको पुछारमा रहेको एक सत्तलमा मुकाम गरि बसिरहे।

विषमुद्दाको जाँच

[सम्पादन गर्नुहोस्]

दुई महिना जति पछि राजा राजेन्द्र र महारानी राज्य लक्ष्मी दुवैको सल्लाह अनुसार राजधानी काठमाडौं मा भारदारी बैठक पुनः डाकियो र थापा परिवार माथी लागेको पुरानो विषमुद्दाको सम्बन्धमा पुनर्विचार गर्ने भन्ने एउटा नाटकको पनि मञ्चन भयो।[] राजा र रानी दुवैको उपस्थितमा भएको यस भारदारीसभाले थापा परिवारलाई निर्दोष ठहर्याइदियो, पहिले पेस भएका सबै कागजात जाली ठहरिए र मुद्दाको जितापत्रका साथै जफत भएका आफ्ना घरजग्गा पनि सबै यिनीहरूले फिर्ता पाए।

काला पाँडेको दमन

[सम्पादन गर्नुहोस्]

यस मुद्दामा काला पाँडेहरू नै कसुरदार मानिए र जनरल भिमसेन थापालाई आत्महत्या गर्न विवश तुल्याउने पनि यिनिहरू नै ठहरिन आए। पाँडे परिवारका कुलराज पाँडे, करवीर पाँडे , रणदल पाँडे तथा दलबहादुर पाँडे र यिनीहरूकै पक्षका रणबम थापा समेत पहिले नै कैद थिए। अनेकौं अफिसर थापा परिवार मानिई बिना अपराध खोसिए।

'न्याय' को यस नाटक मञ्चनमा थापा तथा पाँडे गुट दुवै तर्फबाट तटस्थ रहँदै आएका चौतारा फत्यजङ शाह आदि अन्य भाइ भारदार पनि रानी राज्यलक्ष्मीका डरले गर्दा चुपचाप जितापत्रको यस फैसलालाई समर्थन गर्न विवश थिए। यसै भारदारीसभामा जनरल माथवरसिंह थापाले लेखाएर ल्याएको जितापत्रको फैसलामा राजा राजेन्द्र तथा सभामा उपस्थित अन्य सबै भारदारले विसं १९०० आषाढ ३१ मा आ-आफ्ना सहमतिका छाप बाध्यतापूर्वक लगाइदिए।

आफ्नै मानसिक कमजोरीले गर्दा जनरल भीमसेन थापाले आत्महत्या गरेका थिए। यसमा खास दोष कसैको थिएन।[] तर "अपराधानुसारको सजाय गर्ने" निहुँ मा माथवर्सिंह थापाले पाँडे खलकको दमन गरे। करवीर पाँडे, रणदल पाँडे, कुलराज पाँडे, रणबम थापा तथा कनकसिंह बस्नेत आदि थापा बिरोधी भारदार एवम् यिनका परिवारलाई पनि यसै दिन मसानघाट लगी कटाइयो। यिनका परिवारका दुई वर्षका अबोध बालकहरूसम्मले पनि वचन पाएनन्।

विक्षिप्त भएर रोगशैय्यामा सुतिरहेका भूतपूर्व काजी रणजङ्ग पाँडेलाई पनि निर्दयतापूर्वक बेरुप गराई काठमाडौं सहरका गल्लीगल्लीमा घुमाएर अन्त्यमा विष खुवाई मराइयो।[]

प्रधानमन्त्री माथवरसिंह थापा श्रीपेच सहित सुशोभित भएको एक तस्विर

उनी श्रीपेच धारण गर्ने प्रथम प्रधानमन्त्री हुन् । उनले पहिलो पटक ३ निजी पल्टन राजदल गण, महेन्द्र गण सुरक्षाको लागि तयार पारेका थिए । उनलाई थापा परिवारको ज्येष्ठ, बुद्धिमान र धर्मात्मा भएको नाताले कान्छी महारानीले भारतदेखि आह्वान गरी बोलाएकी थिइन् । उनले पाँडे वंश विरूद्ध ठूलोबुवा मुख्तियार भीमसेनको अपमानजनक मृत्युको बदला त्रासदीपूर्ण रूपमा लिए । उनले पाँडेहरूलाई वसन्तपुरको चोकमा मृत्युदण्ड दिएका थिए ।

वि.सं १९०० मा माथवर सिंह थापा नेपालको मुख्तियार भए । १९९०० पौष ५ गते "मिनिस्टर एन्ड कमान्डर इनचिफ" भन्ने पदवीका साथ यिनले नेपाल अधिराज्यको मुख्तियारको अभिभारा सम्हाले। ८ महिना सम्म उनले आफ्ना मानिसहरूको कल्याण गर्ने काम गरेका थिए ।

दरबारसंगको सम्बन्ध

[सम्पादन गर्नुहोस्]

आफू मुख्तियार भएपछी १७ महिना सम्म उनले दरबार मा आफ्नो सन्तुलित भूमिका खेली राजनीतिमा आफ्नो योग्यता प्रदर्शन गरे । त्यस बेलासम्म उनको क्रियाकलापबाट सबै सन्तुष्ट थिए । सुरुमा राजा रानी'संग यीनको सम्बन्ध राम्रो थियो तर पछि दरबारसंगको सम्बन्ध नराम्रो भयो र कालान्तर मा दरबारमा नै यिनको हत्या समेत भयो ।

राजासंगको सम्बन्ध

[सम्पादन गर्नुहोस्]

उनको राजा संगको सम्बन्ध बिग्रदै गयो । युवराजलाई हत्या गरेर रनेन्द्र लाई राजा बनाउने रानीको षड्यन्त्रबाट युवराजलाई बचाउन उनले राजालाई गद्दी युवराजलाई सुम्पन आग्रह गरेकाले उनीसँग राजा रिसाएका थिए ।

माथवरसिंह थापाले राजा राजेन्द्र र रानी राज्यलक्ष्मी दुवैलाई उपेक्षापूर्वक त्यत्तिकै छाडिदिएकाले अब हनुमानढोकामा रहेको राजदरबार खोसिएका भाइभारदार जम्मा भै मुख्तियार माथवरसिंह थापाका गतिविधिको टिकाटिप्पणी गर्ने अखडाका रुपमा परिणत थियो। आफूकहाँ भेट गर्न आउनु त परै जाओस् , आफू स्वयम् नै यिनको महलमा भेट गर्न जाँदा पनि भेट नदिएकाले राजा राजेन्द्र मुख्तियार माथवरसिंह थापादेखि निकै क्रुद्ध थिए।[]

रानी संगको सम्बन्ध

[सम्पादन गर्नुहोस्]

उनले धर्म र न्याय अनुसार राजा सुरेन्द्र विक्रमको राजा हुने अधिकार विपरीत जान मानेनन् । र उनीसँग रानी राज्य लक्ष्मीदेवी रिसाएका थिए ।

युवराजसंगको सम्बन्ध

[सम्पादन गर्नुहोस्]

माथवर सिंहलाई रानी लक्ष्मीदेवीले बोलाएर प्रधानमन्त्री बनाएको हुदा युवराज सुरेन्द्र पनि उनलाई विश्वास गर्दैनथे ।

उनले धर्म र न्याय अनुसार युवराज सुरेन्द्र विक्रमको राजा हुने अधिकार विपरीत जान मानेनन् । फलस्वरुप कान्छी महारानीको षड्यन्त्रको सिकार हुनुपर्यो। तदनुसार वि.सं १९०२ जेठ २ गते राति ११ बजे "महारानीलाई पेटमा शुल उठी बेहोस भएर घाट लानुपर्ने भएकाले तुरुन्त दरबार जाऔ " भनि कुलमान सिंह बस्न्यात बोलाउन गए। सोझो मनका माथवर बिना पहरेदार दरबार भित्र एक्लै गए र राजाको दर्शन गरे। पर्दा पछाडि लुकेका भान्जा जङ्गबहादुरले गोलि हाने र उनी ढले । [] मर्ने पक्का भए भन्ने ठानी दूई हात जोडी राजारानी समू पुग्दा राजाले मुखमा थुके भने पछाडीबाट तरबारले रोपी पेट छेड्यो, राजाको खुकुरीले एक आठपहरियाले । अनि त बाच्ने कुरै भएन , माथवरसिंह थापाका हात काटिए । उनको लासलाई च्यादरमा लपेती झ्यालबाट चोकमा खसालियो। राति नै उनको लास जलाइयो जुन देख्ने सुन्नेलाई बाहेक अरुलाई थाहा भएन। [१०]

सर्वस्व हरण

[सम्पादन गर्नुहोस्]

जुन समयमा दरबारमा यो घटना घट्यो, त्यस समय माथवरसिंहका छोरा आफ्नो पिताको प्रत्यागमनको प्रतीक्षा गर्दै आफ्नो महलमा पासा खेलेर बसिरहेका थिए। आफू यस षड्यन्त्रबाट अलग रहेको आभास दिलाउदै काजी जंगबहादुर कुँवरले यिनका छोराहरूलाई " तत्कालै उज्यालो नहुँदै विदेशतिर भागिहाल्नू " भन्ने सन्देश भाइ रणोद्दिपसिंह कुँवर मार्फत पठाइदिए। यिनका युवक छोराहरूले प्रतिशोधको आँट गर्न सकेनन् र आफ्नो जे-जती धनसम्पत्ती बचाउने लोभमा परी उज्यालो नहुँदै रातैमा चार भञ्ज्याङ पार भए। रणोद्दिपसिंहले उनीहरूलाई नेपाल अधिराज्यको सिमानासम्म पुर्याउन सहयोग गरे। बचेखुचेका सुनचाँदी लिई परिवारका महिला सदस्य पनि भोलिपल्ट आफ्नो महलबाट पलायन भएकाले यिनका अचल सम्पत्तिहरू मात्र बाँकी थिए, ती सबै जफत भए।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ राजाराम सुवेदी (२०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: २२२, आइएसबिएन 99933-2-406-X 
  2. बाबुराम आचार्य (माघ २०७५), अब यस्तो कहिल्यै नहोस्, फाइनप्रिन्ट बुक्स, पृ: १४४, आइएसबिएन 978-9937-665-40-7 
  3. शमशेरबहादुर थापा , रणवीरसिंह थापा (ललितपुर:जगदम्बा प्रकाशन २०२३) पृ. १०८।
  4. बाबुराम आचार्य (माघ २०७५), अब यस्तो कहिल्यै नहोस्, फाइनप्रिन्ट बुक्स, पृ: १०३, आइएसबिएन 978-9937-665-40-7 
  5. बाबुराम आचार्य (माघ २०७५), अब यस्तो कहिल्यै नहोस्, फाइनप्रिन्ट बुक्स, पृ: १३०, आइएसबिएन 978-9937-665-40-7 
  6. बाबुराम आचार्य (माघ २०७५), अब यस्तो कहिल्यै नहोस्, फाइनप्रिन्ट बुक्स, पृ: १३१, आइएसबिएन 978-9937-665-40-7 
  7. बाबुराम आचार्य (माघ २०७५), अब यस्तो कहिल्यै नहोस्, फाइनप्रिन्ट बुक्स, पृ: १३१, आइएसबिएन 978-9937-665-40-7 
  8. बाबुराम आचार्य (माघ २०७५), अब यस्तो कहिल्यै नहोस्, फाइनप्रिन्ट बुक्स, पृ: १४१, आइएसबिएन 978-9937-665-40-7 
  9. (स्रोत:श्रीकृष्ण श्रेष्ठको पुस्तक जंगबहादुर)
  10. नेपालको तथ्य इतिहास :साझा प्रकाशन , प्रा.डा. राजाराम सुवेदी , पृष्ठ २२४

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]