मोलासेस घाँस Melinis minutiflora | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
भाग: | |
वर्ग: | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | Melinis minutiflora
|
वैज्ञानिक नाम | |
Melinis minutiflora P.Beauv. | |
पर्याय | |
Tristegis glutinosa Nees |
मोलासेस एक वहुवर्षिय अकोषे घाँसको प्रजाति हो जुन पोयसी परिवार अन्तर्गत पर्दछ। यो घाँस नेपालको तराईदेखि मध्य पहाडी भेकसम्म खेती गर्न सकिन्छ।[१] यो घाँस पशु आहाराको साथ साथै भू-संरक्षणको लागि पनि अति उपयोगी मानिन्छ।[२] यसको उचाइ २ मिटर सम्म हुन्छ। पातहरू ४-२० सेमी लामा र ०.५०-१.३ सेमी चौडा हुन्छन्।[३] यस प्रजातिको घाँसको पातको सिथरसतहमम पुरै सेतो भुवाहरूले ढाकेको हुन्छ जसबाट एक प्रकारको तेल निस्कीरहेको हुन्छ।[४] यस कारण मोलासेस लगाएको क्षेत्रमा जाँदा खुदोको वा जिराको जस्तो वास्ना आउँछ र च्याप च्याप लाग्छ। यसको फुल हल्का गुलाबी रङ्गको हुन्छ र यसको करिब १० -३० सेमीको बाला हुन्छ।[५] मोलासेस घाँसको बीउ अत्यन्त हलुको हुन्छ यसलाई बादर घाँस पनि भनिन्छ।
मोलासेस घाँसको उत्पत्ति अफ्रिकाबाट भएको हो जहाँ यो लगभग पुरै अफ्रिका महादेशभरि फैलिएको छ। घरपालुवा जनावरको एक प्रमुख आहारको रूपमा प्रयोग गरिने मोलासेस घाँस उष्णकटिबन्धीय क्षेत्रहरूमा पनि फैलिएको छ।[६][७] यस प्रजातिको घाँस एसियामा भारत, इन्डोनेसिया, मुख्यभूमि चीन, चिनियाँ ताइपेई र अस्ट्रेलियामा पपुवा न्यु गिनी, हुवाई, पलाउ, फ्रान्सेली पोलिनेसिया, तोङ्गो आदिमा फैलिएको छ भने यो उत्तर अमेरिकामा मेक्सिको, संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्य, मध्य अमेरिका, कोस्तारिका, एल साल्भादोर, हन्दुरस, पानामार दक्षिण अमेरिकामा ब्राजिल, सुरिनाम, भेनेसुएला, आर्हेन्तिना, चिले, कोलोम्बीया, इक्वेदोर, बोलिभिया, पेरू आदि देशहरूमा पाइन्छ।[८]
मोलासेस घाँसको उत्पत्ति अफ्रिका महादेशबाट भएको हो। निकासको राम्रो प्रबन्ध भएको अवस्थामा जुन सुकै प्रकारको माटोमा पनि मोलासेस घाँस लगाउन सकिन्छ। बलौटेदेखि हल्का चिम्टाइलो माटोमा यसको खेती गर्न सकिन्छ। यो घाँस भिरालो जग्गा, ग्रामीण सडक किनार, नहर छेउ, पहिरो ग्रस्त क्षेत्रमा पनि अती राम्रोसँग फैलन्छ। यसका लागि माटोको अम्लीय र क्षारिय मात्रा मापन गर्नु पर्दछ जसका लागि पिएच स्केल ४.५-८.४ बीचमा उपयुक्त भएको खण्डमा यसको अधिक उत्पादन गर्न सकिन्छ। रुखो जग्गामा पनि घाँसको विकास गर्न सकिन्छ। यसका लागि वार्षिक वर्षा १०००-२००० मिलिमिटर आवश्यक पर्दछ। मोलासेस घाँसले ४-५ महिनाको सुख्खा समयमा यसले खप्न सक्दछ तर यसले पानी जम्ने ठाँउ, भल र बाढि सहन गर्न सक्दैन। यो घाँस उष्ण तथा समशितोष्ण हावापानीमा सफलतापूर्वक खेती गर्न सकिन्छ। यस प्रजातिको घाँस समुद्र सतहदेखि ८०० -२२०० मिटर सम्म खेती गर्न सकिन्छ। न्यूनतम ३-१५ डिग्री सेल्सियस तापक्रमसम्म जाडो महिनामा खप्न सक्दछ।[९] यस घाँसको अधिक उत्पादनका लागि ३० डिग्री सेल्सियस तापक्रम राम्रो मानिन्छ। तुसारोले यस घाँसलाई अधिक मात्रामा क्षति पुर्याउँछ भने बढि तुसारो परेको अवस्थामा विरुवा नै मर्दछ। यस घाँसको वसकास छायाँमा भन्दा खुला क्षेत्रमा राम्रो हुन्छ।
यस घाँस छर्ने क्रममा हलुकासँग जमिन खनजोत गरी जग्गाको तयारी गर्नु पर्दछ। यसको बीउ मसिनो र हल्का हुने हुँदा सावधानी पूर्वक घाँसको बीउ छर्नु पर्दछ। सामान्यतया प्रति हेक्टर ४-५ कि.ग्रा राम्रो हुन्छ। बीउ छर्दा जमिन नजिक गई छर्नु पर्दछ किनकी यसको बीउ भूवा जस्तो हलुका हुने हुँदा माथिबाट बीउ छर्दा हावाले उडाएर अन्यत्र पुयाउँदछ। बीउलाई माटोको सतहमा पर्ने गरी छर्नु पर्दछ। विना खनजोत पनि यो घाँस छर्न सकिन्छ तर जमिनमा माटोको सतह देखिनु पर्दछ। नेपालको परिप्रेक्षमा ग्रामीण सडक छेउ किनारामा माटो संरक्षण गर्न यस घाँसको प्रयोग हुँदै आएको छ। यस घाँसको बीउलाई १ सेमी भन्दा तल पर्ने गरी छर्नु हुँदैन। बीउ छरेको ८-१० दिन भित्र विरुवा उम्रन्छ भने सुरुमा यसको विरुवा कोदोको विरुवा जस्तै देखिन्छ।
यो घाँस रुखो जमिनमा पनि लगाउन सकिन्छ।तथापी बढि उत्पादनको लागि नाइट्रोजन, फसफोरस र पोटासयुक्त मल प्रयोग गर्नु पर्दछ। यसका लागि ६० कि.ग्रा नाइट्रोजन, १०० कि.ग्राम फसफोरस र ४० कि.ग्राम पोटास प्रति हेक्टर प्रयोग गर्न उपयुक्त हुन्छ। यसलाई कोषे घाँससँग मिसाएर लागाउन सकिएमा पनि यसले पछि सबै झारपातलाई उछिनेर आफ्नो वर्चस्व कायम गर्दछ। स्टाइलो घाँससँग मिश्रित गरी विकास गरिएका घाँसका जातहररूको २-४ वर्ष पछि पुरा मात्रामा मोलासेसले ढाकी स्टाइलो हराउँदै गएको अवस्था छ। तथापी सेटारिया, डिस्मोडियम, स्टाइलो घाँससँग मिसाएर लगाउन सकिन्छ।[९] यसको बीउ अती हलुका भएकोले हावाले उडाएर पनि घाँस विभिन्न स्थानमा फैलिएको हुन्छ।
यस प्रजातिको घाँस छरेको २ महिना पछि पहिलोपटक काट्नका लागि तयार हुन्छ। यसको उत्पादन माटोको उर्वरा, मलखादको प्रयोग सिँचाइको अवस्था आदिमा भरपर्दछ।[१०] यदि व्यवस्थित रूपमा खेति गरिएको छ भने हरियो घाँस ५०-६० मेट्रिक टन सम्म उत्पादन हुन्छ भने सुख्खा पदार्थको आधारमा १०-१२ मे टन हुन्छ तर सामान्य अवस्थमा कमि हुन सक्छ। नियमित पानी पाएको खण्डमा वा वर्षाको समयमा यसलाई वर्षभरि २-३ पटक सम्म काट्न सकिन्छ।[११]
यस प्रजातिको घाँसमा क्रुड प्रोटिन कलिलो अवस्थामा १८ प्रतिशत हुन्छ भने घाँस छिप्पिए पछि ४ प्रतिशतमा झर्दछ। यस घाँसमा सामान्य तया क्रुड प्रोटिन ६-१० प्रतिशत, ३.६-४.८ प्रतिशत क्यालसियस, १.९-४.४ प्रतिशत फसफोरस पाइन्छ भने यसको पातमा फ्याटी अम्ल पनि उपस्थित रहेको हुन्छ।[१२]