राम मोहन | |
---|---|
![]() | |
मृत्यु | मुम्बई |
राष्ट्रियता | ![]() |
राम मोहन (अङ्ग्रेजी: Ram Mohan) एक भारतीय कार्टुन निर्माता र ग्राफिक्स डिजाइनर थिए ।[१] भारत सरकारको फिल्म प्रभागको कार्टुन फिल्म एकाईबाट आफ्नो कार्य जीवनको सुरुवात गरेका मोहनलाई भारतीय एनिमेसनका पिता मानिन्छन् ।[२] उनी सन् १९९५ मा स्थापित, मुम्बईमा अवस्थित ग्राफिटी मल्टिमिडियाका अध्यक्ष र प्रमुख रचानाकारी अधिकृत थिए । सन् २००६ मा उनले ग्राफिटी स्कूल अफ एनिमेसनको स्थापना गरे ।[३]
सन् १९७२ मा यू सेड इट र सन् १९८३ मा फायर गेम्सका लागि उनले सर्वोत्कृष्ट एनिमेसन फिल्मको श्रेणीमा दुई चोटी राष्ट्रिय चलचित्र पुरस्कार जितेका थिए ।[४] सन् २००५ मा उनलाई मुम्बई अन्तर्राष्ट्रिय चलचित्र उत्सवमा आजीवन उपलब्धि पुरस्कार प्रदान गरिएको थियो ।[५] सन् २०१४ मा उनलाई भारत सरकारद्वारा पद्म श्री प्रदान गरिएको थियो ।[६][७]
मद्रास विश्वविद्यालयबाट रसायन विज्ञानमा स्नातक गरेका मोहन आफ्नो स्नातकोत्तरका लागि मुम्बई सरेपनि सन् १९५६ मा उनले भारत सरकारको फिल्म प्रभागको कार्टुन फिल्म एकाईमा काम गर्न थाले । संयुक्त राज्य प्राविधिक सहयोग कार्यक्रममा वाल्ट डिज्नी एनिमेसन स्टुडियोजका क्लेर विक्सबाट उनले कार्टुन निर्माण र एनिमेसनका तरिका सिके । एक, अनेक और एकताका रचनाकार भीमसेन खुराना पनि मोहनसँगै कार्टुन फिल्म एकाई काम गर्थे ।[८]
सन् १९६८ सम्म फिल्म प्रभागमा कार्टुन निर्माताका रूपमा काम गरेका मोहनले सन् १९७२ मा राम मोहन बायोग्राफिक्सको स्थापना गरे जुन सन् १९९८ मा युनाइटेड स्टुडियोजको युटिभी टून्सको भाग बन्यो ।[९]
मीनू मसानीको किताबबाट प्रेरित दिस इज इन्डियाको कार्टुन बनाई मोहनले आफ्नो कार्य जीवनको सुरुवात गरे ।[१०] उनले सन् १९६० देखि सन् १९६७ सम्म कार्टुन फिल्म एकाईका लागि टन्नै कथाको रचना र कार्टुनको निर्माण गरे जसमध्ये सन् १९६७ मा होमो सेप्सले सर्वोत्कृष्ट प्रयोगात्मक पुरस्कारको श्रेणीमा राष्ट्रिय पुरस्कार र सन् १९६८ मा केअसले लिपजीग छोटो चलचित्र उत्सवमा पुरस्कार जिते । उनले सन् १९६७ मा मन्ट्रियलमा आयोजित एनिमेसन फिल्मसम्बन्धि कार्यक्रममा पनि भाग लिएका थिए ।
सन् १९६८ मा उनले फिल्म प्रभाग छोडेर प्रसाद स्टुडियोजमा प्रमुख निर्माताको रूपमा काम गर्न थाले । सन् १९७२ मा उनले राम मोहन बायोग्राफिक्स नामक निर्माण कम्पनीको स्थापना गरे । सन् १९९२ मा उनले जापानका युगो साकोसँग सहनिर्देशन गरेको कार्टुन चलचित्र रामायण: श्री राम कथा पनि यही कम्पनीको रचना हो ।[११]
राम मोहनले बलदेव राज चोपडाको पति पत्नी और वो, सत्यजित रायको शतरंज के खिलाडी र मृणाल सेनको भुवन शोमेलगायत अन्य चलचित्रमा पनि एनिमेसनको काम गरेका छन् ।[१०]
राम मोहन भारतीय एनिमेसनका पिता मानिन्छन् । कयौँ भारतीय कार्टुन निर्माताले आफ्ना कार्य जीवन उनको स्टुडियोबाट सुरु गरेका छन् ।
शीर्षक | वर्ष | भूमिका | टिप्पणी |
---|---|---|---|
केअस | सन् १९६७ | निर्देशक | एनिमेटेड छोटो चलचित्र |
बाप रे बाप | सन् १९६८ | निर्देशक | एनिमेटेड छोटो चलचित्र
सर्वोत्कृष्ट छोटो चलचित्रको श्रेणीमामा राष्ट्रिय पुरस्कार |
हसीना मान जाएगी | सन् १९६८ | एनिमेसन निर्देशक | शीर्षक अनुक्रम |
भुवन शोमे | सन् १९६९ | एनिमेसन | |
यू सेड इट | सन् १९७१ | निर्देशक | एनिमेटेड छोटो चलचित्र
एनिमेसन फिल्मको श्रेणीमा राष्ट्रिय चलचित्र पुरस्कार |
शतरंज के खिलाडी | सन् १९७७ | एनिमेसन निर्देशक | |
पति पत्नी और वो | सन् १९७८ | एनिमेसन निर्देशक | गीत: "ना आज था ना कल था" |
दो और दो पाँच | सन् १९८० | एनिमेसन निर्देशक | शीर्षक अनुक्रम |
खूबसूरत | सन् १९८० | एनिमेसन | गीत: "कायदा कायदा" |
इन्साफ का तराजु | सन् १९८० | शीर्षक डिजाइन | |
बीवी-ओ-बीवी | सन् १९८१ | एनिमेसन निर्देशक | शीर्षक अनुक्रम |
नदिया के पार | सन् १९८२ | तिवारी (ओमकार र चन्दनका काका) | |
कामचोर | सन् १९८२ | एनिमेसन निर्देशक | |
फायर गेम्स | सन् १९८३ | निर्देशक | एनिमेटेड छोटो चलचित्र
एनिमेसन फिल्मको श्रेणीमा राष्ट्रिय चलचित्र पुरस्कार |
मीना | सन् १९९१ - सन् २००१ | निर्देशक (सन् १९९१ - सन् २००१, १६ भाग)
पटकथा कलाकार (सन् १९९१ - सन् १९९५, ३ भाग) |
संयुक्त राष्ट्र सङ्घीय बालकोषद्वारा निर्मित बाल दूरदर्शन कार्यक्रम |
रामायण: श्री राम कथा | सन् १९९२ | सहनिर्देशक (युगो साकोका साथ) | एनिमेटेड चलचित्र
भारतीय-जापानी रचना |
११ अक्टोबर २०१९ मा मुम्बईमा ८८ वर्षको उमेरमा राम मोहनको निधन भयो ।[१४]