सत्यमोहन जोशी | |
---|---|
![]() सत्यमोहन जोशी | |
जन्म | वि. सं. १९७७ वैशाख ३० बखुम्बहाल, ललितपुर |
मृत्यु | २०७९ असोज ३०[१][२] किष्ट अस्पताल, ललितपुर |
पेशा | लेखन, इतिहास तथा संस्कृतिविद् |
भाषा | नेपाली, नेपाल भाषा |
राष्ट्रियता | नेपाली |
शिक्षा | स्नातक |
अल्मा मेटर | दरबार हाई स्कुल, त्रि-चन्द्र कलेज |
उल्लेखनीय पुरस्कारहरू | मदन पुरस्कार, सुप्रबल गोर्खा दक्षिण बाहु, त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, उज्ज्वल कीर्तिमान राष्ट्रदीप |
जीवनसाथी | राधादेवी जोशी |
आफन्तहरू | शङ्करराज जोशी (पिता) नोगलदेवी जोशी (माता) |
धर्म | हिन्दु |
सत्यमोहन जोशी (जन्म वि. सं. १९७७ वैशाख ३०—२०७९ असोज ३०) नेपाली साहित्यकार र विद्वान थिए। जोशी नेपालको इतिहास र संस्कृतिको अनुसन्धानका लागि परिचित छन्। उनको निधन २०७९ असोज ३० गते १०३ वर्षको उमेरमा भएको थियो।[३]
बाबु शङ्करराज जोशी र आमा नोगलदेवीका सुपुत्रका रूपमा वि. सं. १९७७ वैशाखमा ३० मा बखुम्बहाल, ललितपुरमा जन्मेका सत्यमोहन जोशीले हाम्रो लोक संस्कृति का लागि पहिलो पटक विसं २०१३ सालमा, नेपाली राष्ट्रिय मुद्रा नामक ग्रन्थका लागि दोस्रो पटक विसं. २०१७ सालमा, र कर्णाली लोक संस्कृति नामक ग्रन्थको लागि संयुक्त रूपमा तेस्रो पटक विसं २०२८ सालमा मदन पुरस्कार प्राप्त गरेका थिए।[४]
डा. सत्यमोहन जोशी नेपालका संस्कृतिविद् हुन्। [५]उनी पिता शङ्करराज जोशी र माता राजकुमारी जोशीका जेठा छोरा हुन्। जोशी साहित्यकार पनि हुन्। उनले त्रिचन्द्र कलेजबाट स्नातक सम्म अध्ययन गरेका थिए। जोशी विसं २०१५ मा पुरातत्व र संस्कृति विभागका पहिलो निर्देशक थिए।
नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संस्कृतिको संरक्षण, सम्बर्द्धन र विकासमा लागि परेका हुनाले उनको योगदानको कदर स्वरूप सुप्रबल गोर्खा दक्षिणबाहु विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौँ विश्व विद्यालयले विद्यावारिधीको मानार्थ प्रमाणपत्र प्रदान गरेको थियो। नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको थियो।[६] तीन पटकसम्म मदन पुरस्कार प्राप्त गर्न सफल भएका जोशी प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक पाँच, काव्य दुई र कथा सङ्ग्रह पाँच तथा नेवारी भाषामा गरी करिब ५० कृति प्रकाशित भइसकेका छन्।[७]
शताब्दी पुरुष सत्यमोहन जोशीले जीवनभर साहित्य, कलासंस्कृति र रङ्गमञ्चमा गरेका योगदानका विविध आयाम समेटेर कवि तथा लेखक अनिल पौडेलद्वारा लिखित ‘जुरेली दर्शन’ पुस्तक प्रकाशनमा ल्याएका थिए। यस कृतिमा उनको जीवनी, भाषा, साहित्य, लोकसंस्कृति अन्वेषणलगायतका विषयहरू समेटिएका छन्।[८]
विसं २०७६ वैशाक ३० गते वाङमय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशी एक सय वर्षमा प्रवेश गरेका थिए।[९] जोशी एक सय वर्षमा प्रवेश गरेको अवसर पारेर ललितपुर महानगरपालिकाले महानगरमा सार्वजनिक बिदा दिएको थियो। २०७६ साल बैशाख ३० गतेबाट २०७७ वैशाख ३० गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरी उनको जन्मशताब्दी महोत्सव मनाउने निर्णय पनि गरिएको थियो।[१०] सत्यमोहन जोशीको वि.सं २०७९ साल असोज ३० गते बिहान ७:०९ बजे निधन भएको थियो।[११]
नेपालका विभिन्न गाउँगाउँ गएर उनले विरही गीत सङ्कलन गर्दै जाँदा उनले ‘लोक संस्कृति’ नामक पुस्तक लेखेका थिए। पछि गएर यही पुस्तकले वि. सं २०१३ सालमा मदन पुरस्कार पाएको थियो। मदन पुरस्कार गुठीको स्थापनाकालमा नै उनले उक्त पुरस्कार प्राप्त गरेका थिए। नेपालमा लिच्छवि कालदेखि आधुनिक नेपालसम्म प्रयोग भएका मुद्राहरूको खोज तलास गर्दै र यही सेरोफेरोमा लेखिएको ‘नेपाल राष्ट्रिय मुद्रा’ नामक पुस्तकका लागि विसं. २०१७ मा उनले दोस्रोपटक मदन पुरस्कार प्राप्त गरेका थिए। तेस्रोपटक वि. सं. २०२८ सालमा उनले ‘कर्णाली लोक संस्कृति’ पुस्तकका लागि मदन पुरस्कार पाएका थिए। हालसम्म तीनपल्ट मदन पुरस्कार पाउने उनी एक्ला व्यक्ति हुन्।[१२]
जोशीलाई पुरातत्त्व विभागका पहिलो निर्देशक बन्ने सौभाग्य पनि प्राप्त भएको थियो। वि. सं. २०१५ मा केवल ३८ वर्षको उमेरमा उनी पुरातत्व विभाग (नेपाल)को निर्देशक बनेका थिए।[१३]
२४ भदौ २०७६ मा, नेपाल राष्ट्र बैङ्क, मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाबाट वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको तस्बीर अङ्कित चाँदीको सिक्का निस्कासन गरिएको थियो। दुई हजार पाँच सयका २५ हजार थान, एक हजारका २५ हजार थान र रु एक सयको १० हजार थान दरको सिक्कामा एकातिर जोशीको तस्बीर छ भने अर्कोतिर सगरमाथाको तस्बीर रहेको छ।[१४]
सत्यमोहन जोशीका संस्कृतिसम्बन्धी १० पुस्तक प्रकाशित छन् भने दुई वटा काव्य, पाँच कथा सङ्ग्रह, १० वटा नाटक र केही नेवारी भाषाका कृतिहरु लेखेका छन्। समालोचकहरूले उनका ५० वटा पुस्तक प्रकाशित भएको जनाएका छन्। तीमध्ये उनका २० पुस्तकलाई महत्त्वपूर्ण पुस्तक मानिएको छ।[१३]
वरिष्ठ साहित्यकार सत्यमोहन जोशीलाई विसं २०६९ सालमा पद्यश्री साधना सम्मान पुरस्कार प्रदान गरिएको थियो।[१६]